नागरिकताविहीन नागरिक

chamina copyकाठमाडौं, १४ पुस । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले नेपालमा अझै ४६ लाख मानिस नागरिकताविहीन रहेको बताएको छ । एफडब्लुएलडीले मंगलबार सार्वजनिक गरेको ‘नेपालमा नागरिकता प्रमाणपत्रको प्राप्तिः अनुमान र प्रक्षेपण’ विषयको पुस्तकमा सो कुरा उल्लेख गरिएको छ । पुस्तकमा नागरिकतासम्बन्धी व्यवस्था स्पष्ट हुन नसक्दा सन् २०१४(दुई वर्षअघि) सम्म अझै ४६ लाख मानिसले नागरिकता प्राप्त गर्न नसकेको उल्लेख छ । संस्थाले सन् २०११ (विसं २०६७।६८) देखि गर्दै आएको अध्ययन अनुसार उक्त वर्ष नागरिकता नपाउनेको सङ्ख्या ४३ लाख थियो भने सन् २०२१ (विसं २०७७।७८) सम्म सो सङ्ख्या बढेर ६७ लाख पुग्ने अनुमान गरिएको छ । सो अनुमान नागरिकता प्राप्त गर्ने उमेर पुग्ने समूहलाई आधार मानेर गरिएको एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्त सविन श्रेष्ठले जानकारी दिए ।

उनले प्रत्येक वर्ष नागरिकता प्राप्त गर्ने उमेर समूहलाई तथ्याङ्कमा प्रस्तुत गर्दै संविधानमा नागरिकतासम्बन्धी भएका प्रावधान एकार्कामा बाझिने भएकाले नागरिकता नपाउनेको संख्या बढ्ने बताए । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा सबै नेपालीले कानुनी पहिचान प्राप्त गरिसक्नुपर्ने भएकाले राष्ट्रिय योजना आयोगले सोहीअनुसार कार्य गरिरहेको उनले जानकारी दिए । सस्थाका संस्थापक अध्यक्ष सपना मल्ल र वर्तमान अध्यक्ष मीरा ढुंगानाले संविधानमा नागरिकताका सम्बन्धमा महिलालाई पनि अधिकार दिइएको तर त्यसको कार्यान्वयन पक्ष भने फितलो भएको देखिएको बताएका छन् ।

प्रतिक्रिया