भूकम्पपीडित विद्यालयमा चिसोले पढाइ प्रभावित

भक्तपुर, १३ पुस । गत वैशाख १२ मा गएको भूकम्प तथा लगातारको पराकम्पनले विद्यालय भवन भत्काएपछि बिचल्ली परेका पीडित विद्यालयको पढाइ प्रभावित हुन थालेको छ । स्थानीय स्तरमा मान्द्रो तथा चित्राले बेरेको अस्थायी टहरामा पढ्दै आएका भूकम्पपीडित विद्यालयका विद्यार्थी अत्यधिक जाडोका कारण बिरामी परेपछि पढाइ प्रभावित भएको हो ।

मान्द्रोले बेरेर जस्ताको छानो भएको अस्थायी सिकाइ केन्द्रमा बसेर बिहान र दिउँसो अध्ययन गर्ने विद्यार्थी जाडोले कठयांग्रिँदै पढ्न बाध्य भएका छन् । एक्कासी बढेको चिसोका कारण विद्यार्थीहरू बिरामी पर्न थालेपछि भूकम्पपीडित विद्यालयमा पढाइ रोकिने अवस्थामा पुगेको छ ।

भक्तपुरको दरबार स्क्वायरस्थित श्री पद्म उच्च माध्यमिक विद्यालयका प्राचार्य राम हाडाले अस्थायी सिकाइ केन्द्र अर्थात ‘टिएलसी’मा विद्यार्थीले निकै सकसपूर्ण रूपमा पढ्न बाध्य भएको जानकारी दिएका छन् । सन् २००४ मा स्थापना भई १ हजार ९ सय विद्यार्थी अध्यनरत यस विद्यालयको राणाकालीन शैलीमा बनेको मूलभवन नै भूकम्पले पूर्णरूपमा भत्काएपछि विद्यार्थी टिएलसीमा बसेर अध्ययन गर्न बाध्य छन् । ‘टिएलसीमा विद्यार्थी कठाङ्ग्रिएर पढ्न बाध्य छन्, विद्यार्थी बिरामी पर्न थालेकाले विद्यार्थी कक्षामा नियमित नहुनाले पढाइ प्रभावित हुनथाल्यो, सरकारले भूकम्प प्रभावित विद्यालय छिटो पुनर्निर्माणको व्यवस्था गरिदिनुपर्छ ।’ हाडाको भनाइ छ ।

यस्तै भक्तपुर नगरपालिकाभित्रै रहेको विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालयको हालत पनि उस्तै रहेको विद्यालयकी प्राचार्य सिर्जनी जोशीले बताइन् । उनले टिएलसीमा अति जाडो भएर पढ्नै नसक्ने अवस्था छ, जाडोले विद्यार्थीको पढाइ निकै प्रभावित बनेकोे बताइन् । वर्षामा टिएलसीभित्र पानी बसेर हिलाम्मे हुने, गर्मीले बाफिने र अहिले जाडोमा मान्द्रोबाट हावा छिर्ने र जस्ताबाट शीत चुहिने भएपछि विद्यार्थीलाई सकस भएको हो । अहिले बस्ने ठाउँ नभएकाले विद्यालयको प्रशासनिक काम भूकम्पले क्षति पु¥याएर रातो स्टिकर टाँसेको पुरानै भवनबाट गरिँदै आएको उनले बताइन् । प्राचार्य जोशीका अनुसार विद्यार्थीलाई सुरक्षित राख्न टिएलसी मै राखिएको, शिक्षक शिक्षिकालाई रातो स्टिकर टाँसेकै भवनको भुँइतलाबाट काम लगाइ राखिएको बताइन् ।

यता भूकम्पले पूर्णरूपमा भवन क्षति भएको भक्तपुर नगरपालिकाक्षेत्र कै शारदा उमाविको अवस्था पनि उस्तै नै छ । विद्यालयको सिंगो भवन भूकम्पले भग्नावशेषमा परिणत गरे पनि यहाँ पढ्ने विद्यार्थीका लागि टिएलसी एक मात्रै विकल्प बनेको हो ।

शारदा उमाविका प्राचार्य उद्धव सुजखुका अनुसार टिएलसीमा जाडोले पढ्नै नसक्ने भए पनि समस्या आएको बताउँदै नयाँ भवन बनाइदिन दाता आए पनि विश्वसम्पदा क्षेत्रभित्र रहेको भन्दै नयाँ भवन बनाउन नगरपालिकाले स्वीकृति नदिँदा थप समस्या भएको उनले गुनासो गरेका छन् ।

प्रतिक्रिया