मिडिया अनुगमनबारे छलफल

काठमाडौं, १२ पुस । सञ्चारमाध्यमको नियमित अनुगमन कार्यलाई प्रभावकारी बनाउने सम्बन्धमा प्रेस काउन्सिल नेपालले आइतबार सञ्चारविद्सँग छलफल गरेको छ । कार्यक्रममा विज्ञहरूले काउन्सिलबाट नियमितरूपमा भइरहेको अनुगमनलाई प्रभावकारी र सञ्चारकर्मीलाई जवाफदेही बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिएका छन् ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले सञ्चारमाध्यमको काउन्सिलको अनुगमनलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिँदै सञ्चारमाध्यमको आचारसंहिता उल्लङ्घनको कारबाही पक्षपात ढङ्गले नभई आवश्यकताअनुसार भइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले मिडिया अनुगमनका लागि महासंघ समन्वय र सहकार्य गर्नका लागि तयार रहेको धारणा राख्दै मिडियामा आएका आपत्तिजनक विषयवस्तुको उदाहरण प्रस्तुत गरेका छन् ।

कार्यक्रममा सञ्चारविद् तपनाथ शुक्ला, धर्मेन्द्र झा, विनोद ढुङ्गेल, सङ्गीता लामा, नीतु पण्डित, चन्द्रदेव कामतीलगायतले हालै विभिन्न जिल्लामा गरिएको अनुगमनबारे आफ्ना धारणा राखेका थिए । छलफलमा अनुगमनका क्रममा देखिएका समस्या सम्बन्धमा छलफल तथा अन्तक्र्रिया बढाउने, नियमित अनुगमन गर्ने, रेडियो, टिभी, छापा, अनलाइनको छुट्टाछुट्टै सम्यन्त्र र समिति बनाउने, अनुगमनसम्बन्धी निर्देशिका बनाउन जोड दिइएको थियो ।

प्रतिक्रिया