दुवैतर्फका बन्दी रिहा

साना । यमनमा मंगलबार सुरु भएको शान्तिवार्ता बिहीबार तेस्रो दिन पनि निरन्तर रह्यो । वार्तासँगै दुवै पक्षबाट बन्दीहरू रिहा गर्ने काम सम्पन्न भएको छ । सरकार र विद्रोही पक्षका सयौँ बन्दीलाई बुधबार रिहा गरिएको बताइएको छ । वार्ता सकारात्मक भएको र दुवैतर्फबाट बन्दी रिहाई गर्नुपर्ने सहमति भएको थियो ।

सोही सहमति बमोजिम युद्धविराम पनि सुरु भएको हो । सोमबार मध्यरातीदेखि यमनमा युद्धविराम सुरु भएको थियो । सो युद्धविरामपछि मंगलबार बिहानबाट सरकारी प्रतिनिधि र हुथी विद्रोहीबीच वार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा यमनका विद्रोहीहरू शान्तिवार्ताका लागि तयार भएका हुन् । सरकारतर्फका वार्ता टोलीका सदस्यले सोमबार स्विट्जरल्यान्डमा बोल्दै यसपटक यमनमा विद्रोहीहरू युद्धविरामप्रति इमानदार हुने अपेक्षा गरेका थिए ।

वार्ता स्विट्जरल्यान्डमा भइरहेको छ । सो वार्तामा हुथी विद्रोहीले राखेका मागहरूका बारेमा सरकार पनि गम्भीर रहेको यमनी सरकारले जनाएको छ । सरकार र विद्रोहीबीचमा युद्धविराम भई वार्ता सुरु भएको छ र वार्ता सकारात्मक मोडमा प्रवेश गरेको समाचारमा जनाइएको छ । बुधबार यमनमा विद्रोह गरिरहेका हुथी विद्रोहीका ३ सय ७० जना बन्दीलाई यमन सरकारले रिहा गरेको थियो । त्यसैगरी सरकार समर्थित लडाकूलाई पनि विद्रोहीले थुनामा राखेका थिए ।

सरकार समर्थित करिब २ सय ८५ जना बन्दीलाई हुथी विद्रोहीले पनि रिहा गरिदिएका छन् । सो कार्यका लागि एक बन्दी रिहाई समिति निर्माण गरिएको थियो र सोही समितिको समन्वयमा बन्दीहरू रिहाई भएका हुन् । यमनमा पछिल्लो समयमा त्यहाँका हुथी विद्रोहीले आफ्नो शक्ति सञ्चय गरिरहेका बताइएको थियो । उनीहरूले राष्ट्रपतिको कार्यालयलाई नै घेरामा हाली उहाँलाई साउदी अरेबियामा शरण लिन बाध्य पारेका थिए ।

हुथी विद्रोहीहरूको विद्रोहको रूप बढ्दै गएपछि राष्ट्रपति अबेद रब्बोले नै वार्ताको पहल गरेका हुन् । साउदी अरेबियामा नै निर्वासनमा रहेका बेला उनले वार्ताको पहल थाल्ने सहमति गरेको बताइएको थियो ।

बन्दी साटासाटको कार्य यमनको दक्षिणी प्रान्त लाझमा भएको थियो । सो प्रान्तमा दुवैतर्फका बन्दी लगिएको र वार्ता समितिका व्यक्तिका रोहवरमा नै साटासाट गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । यमनमा मार्चदेखि हालसम्म भएका हिंसाहरूमा ५ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सो संख्यामा आधाभन्दा बढी सर्वसाधारण रहेका बताइएको छ । हुथी विद्रोहीले त्यहाँका प्रहरी एवं सेनालाई लक्ष्य गरेको बताएको भए पनि यसमा परी सर्वसाधारण पनि मारिएका छन् ।

गएको मार्च महिनाबाट सुरु भएको सशस्त्र हिंसामा परी २७ हजार व्यक्ति नराम्ररी घाइते भएका छन् । साथै यस द्वन्द्वमा परी हजारौँ व्यक्ति विस्थापित पनि भएका यमनको सेनाले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया