रसाइलीको संयोजकत्वमा समिति

पाँचथर, २ पुस । पाँचथरमा विशाल रसाइलीको संयोजकत्वमा नेकपा क्रान्तकारी माओवादीको जिल्ला सम्मेलन आयोजक समितिको गठन भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र परि थापा नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता भई बनेको नेकपा (क्रान्तिकारी माओवादी)ले ४८ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको हो ।

२ पार्टीबीच केन्द्रमा एकता भएको भएपनि पाँचथरमा भने छुट्टाछुट्टै समिति चलायमान थिए । बुधबार फिदिममा सम्पन्न एकता बैठकमा उक्त समितिको चयन गरिएको हो । दुबै पार्टीका जिल्ला कमिटीका सदस्यहरू सहभागी बैठकबाट यस्तो निर्णय भएको संयोजक रसाइलीले जानकारी दिए । एकता अभियानलाई गाँउ र इलाका स्तरमा सम्पन्न गरि जिल्ला अधिवेशन गरिने वताइएको छ ।

एकता बैठकमा उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य इन्द्र आङ्बो ‘मौसम’, केन्द्रीय सदस्य केवी फुदोङ, हर्कनेम्वाङ ‘मिक्सो’ लगायत नेताहरू सहभागी थिए । यसैबीच उक्त पार्टीका सचिवालय सदस्य इन्द्र आङ्बो ‘मौसम’ले माओवाद विचारधारा अंगालेका पार्टीहरूबीचको एकता प्रक्रिया सुरु भएको बताएका छन् । नेपालमा अस्तित्वमा रहेका सवै माओवादीहरूलाई गोलबद्ध गर्ने निर्णय अनुसार नै परी थापा नेतृत्वको नेकपा एकिकृतसँग एकता गरिएको र अन्य माओवादीहरूसँग एकता गरिने आङ्बोले बताए । तर, एकिकृत नेकपा (माओवादी)सँग गर्ने भनिएको एकताको विषयमा केही फरक मत रहेकाले वहस भइरहेको उनको भनाई छ ।

आङ्बोले संविधानसभाबाट जारी भएको संविधान र जनवादी क्रान्तिप्रति हेर्ने दृष्टिकोणमा मत भिन्नता रहेको र एकताका लागि शीर्ष तहमा सघन छलफल भईरहेको बताए । ‘हामीले नयाँ संविधानलाई पश्चगामी भनेका छौँ । तर, एमाओवादीले प्रगतीशिल भनेको छ ।’ उनले अघि भने ‘हामीले जनवादी क्रान्तिका प्रमुख कार्यभार पूरा भएका छैनन् भनेका छौँ तर, एमाओवादीले केही मात्रै बाँकी छ भनेको छ ।’

प्रतिक्रिया