फुटबल टोली बंगलादेश प्रस्थान

football bidae bangladeshकाठमाडौं, २९ मंसिर । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप) का सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रम बीच बिदाई गरे ।

पुस ८ गतेदेखि भारतको त्रिभेन्द्रममा हुने साफको तयारी स्वरूप नेपाली राष्ट्रिय टोली ३ दिन ढाकामा नै बन्द प्रशिक्षणमा रहनेछन् । ढाकामा ३ दिने बन्द प्रशिक्षणमा सहभागी भइ टोलीले पुस २ गते बंगलादेशको राष्ट्रिय टोलीसँग अभ्यास खेल खेल्नेछ । ढाकाबाटै नेपाली टोली साफ प्रतियोगिता भारत जानेछ ।

अनिल गुरुङको नेतृत्वमा २० सदस्यीय नेपाली टोली बंगलादेश प्रस्थान गरेका छन् । नेपाली टोलीमा गोलरक्षक अमृत चौधरी, विंगर नवीन लामा, मिडफिल्डरहरू हेमन गुरुङ र योगेश गुरुङले पहिलोपटक स्थान बनाएका छन् । सोमबार सार्वजनिक भएको टोलीअनुसार गोलरक्षकहरूमा किरण चेम्जोङ, अमृत चौधरी र विकेश कुथु छन् । गोलरक्षकको रूपमा किरन चेम्जाङर विकेश किथु मध्ये एकलाई पहिलो रोजाइमा राख्ने प्रशिक्षक प्याट्रिक ओसेम्सको योजना छ । डिफेन्डरहरूमा विराज महर्जन, रविन श्रेष्ठ, जितेन्द्र कार्की, रन्जित धिमाल, अनन्त तामाङ र आदित्य चौधरी छन् ।

यस्तै, नेपाली टोलीका मिडफिल्डरहरूमा रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, विशाल राई र योगेश गुरुङ छन् । घोषणा भएको टोली अनुसार फरवार्डहरूमा अन्जन विस्ट, नवयुग श्रेष्ठ, अनील गुरुङ, विमल घर्तीमगर, जगजित श्रेष्ठ र नवीन लामा छन् । प्रशिक्षक प्याट्रिक ओसेम्सले विराज महर्जन र रोहित चन्दलाई उपकप्तानको जिम्मेवारी सुम्पिएका छन् । आगामी पुस ८ गते देखि १९ गतेसम्म भारतमा हुने प्रतियोगितामा आयोजक भारत र श्रीलंकासहित नेपाल समूह ‘ए’मा रहेको छ । समूह ‘बी’मा साविक विजेता अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र भुटान छन् । अनिलले पछिल्लो समय नेपाली फुटबल कठीन अवस्थामा रहेको भन्दै नेपाली फुटबललाई नयाँ उचाइ दिन प्रतियोगितामा आफूहरूले राम्रो प्रदर्शन गर्ने बताए ।

प्रतिक्रिया