गाविस कर्मचारीद्वारा आन्दोलन घोषणा

काठमाडौ, २८ मंसिर । गाँउ विकास समिति कर्मचारी संघ नेपालले निजामति कर्मचारी सरहको सेवा सुविधाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी ५ पुुुसदेखि आन्दोलनको अगाडि बढाउने बताएको छ ।

संघले पुस ५ गते पाँचै विकास क्षेत्रमा क्षेत्रीय भेला आयोजना गर्ने, ६ र ७ गते हातमा कालो पट्टी बाँधेर काम गर्ने, ८ गते ललितपुर जिल्लाका सम्पूर्ण गाविस बन्द गर्ने, ८ देखि १० गतेसम्म देशभरीका गाविसमा पेन डाउन गर्ने , ११ गतेदेखि अनिश्चितकालिन स्थानीय निकाय बन्द गराउने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघका अध्यक्ष विक्रम महर्जनले पहिलो चरणको आन्दोलन पछि पनि सरकार माग पूरा गराउन तयार नभए दोस्रो चरणको आन्दोलन कडा हुने जानकारी दिएका छन् । उनले सरकारले स्थायी नियुक्ति पत्र दिए पनि सरकारी कर्मचारी भन्दा अत्यन्त न्यून सेवा सुविधा उपलब्ध गराएको भन्दै अहिलेकै अवस्था रहे गाविस कर्मचारीहरू भोकै मर्न सक्ने अवस्था रहेकाले सरोकारवालको ध्यान जान जरुरी रहेको बताए ।

बरिष्ठ उपाध्यक्ष अंकीलाल भट्टले सरकारको स्थानीय सरकारको रूपमा काम गरेर सरकारको प्रतिनिधित्व गराईरहने गाविस कर्मचारीलाई राज्यले हेला गर्दा यसले समग्र प्रशासनमा सुधार आउन नसक्ने भन्दै गाविसका कर्मचारीलाई बाँच्न सक्ने अवस्था निर्माण गरेर त्यसले मुलुकलाई नै फाईदा गर्ने विश्वास ब्यक्त गरे ।

संघले निजामति कर्मचारी सरह तलब, भत्ता, सुविधा हुनु पर्ने, कर्मचारी कल्याणकोषको ब्यवस्था मन्त्रालयले गर्नु पर्ने, स्थानीय निकायका कर्मचारीको अभिलेख शाखामा गाविस कर्मचारीको अभिलेख राख्नु पर्ने, गाविस अनुदान ५० प्रतिशत बृद्धि गर्नु पर्ने, सहमति कार्यान्वयन गर्नु पर्ने, लगायतका रहेका छन ।

प्रतिक्रिया