यसरी हुन्छ इन्धनमा कालो बजारी

काठमाडौं, २८ मंसिर । पेट्रोलियम पदार्थमा हुने चुहावट र कालोबजारीको जालो बिस्तारै पर्दाफास हुन थालेको छ । कालोबजारी गर्न तथा बजारमा एकाधिकार जमाउन एकै व्यक्तिले ९ वटासम्म पेट्रोलपम्प सञ्चालन गर्दै आएको खुेलेको छ ।

नेपाल आयल निगमको कर्मचारी तथा पेट्रोलपम्पको मालिक र व्यवसायीकै मिलेमतोमा बढीजसो कालोबजारी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पेट्रोल पम्पहरूमा रिमोट जडान गर्ने भारतीय मिस्त्रीहरूबाट सुरु भएको प्रहरी अपरेसनका क्रममा अनुसन्धान अगाडि बढाउँदै जाँदा प्रहरीले आयल निगमको थानकोट डिपो प्रमुख रविन शर्मा र गुणस्तर विभागका पूर्वप्रमुख एवं सहसचिव रामआधार साहसमेत पक्राउ परेका छन् ।

नेपाल प्रहरीको अपराध महाशाखाले तेल तस्करी र कालोबजारीविरुद्ध सुरु गरेको ‘एन्टी मंगर अपरेसन’का क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि तेलमा हुने खेलहरू धेरै हदसम्म सतहमा आएको छ । यस खेलमा नेपाल सरकारको सहसचिवसम्म तानिनुले अनियमितता तेल तस्करी र कालोबजारीको संजालका बारेमा यथार्थ बाहिर आउन थालेका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएको रामआधार साह अहिले वातावरण मन्त्रालयका प्रवक्ता एवं सहसचिव हुन् । उनी गुणस्तर तथा नापतौल विभागका क्षेत्रीय निर्देशक तथा महानिर्देशक भइसकेका व्यक्ति हुन् । उनकै पालामा पेट्रोल पम्पहरूमा डिजिटल प्रविधि भित्रिएको थियो । तर, साहले त्यसलाई नै कमाउ धन्दा बनाएको खुलेको छ । उनले नै नेपालमा डिजिटल प्रविधिसँगै तेल ठगीका लागि रिमोट सिस्टम भित्र्याएको केही व्यवसायीले बताएका छन् ।

भारतबाट ल्याइएका मिस्त्रीहरूले केही हजार रुपैयाँ लिएर पम्पहरूमा चिप्स जडान गर्थे । जसबाट १ सय लिटरमा ४ लिटरसम्म ठगी हुन्थ्यो । यसरी उपभोक्तालाई ठगी गरेवापत पम्पहरूले भने साहलाई नियमितरूपमा पैसा बुझाउने गरेका थिए । उनी आपैmँ पेट्रोल पम्प अनुगमनमा आउने र उनकै प्रस्तावमा पम्पहरूमा रिमोर्ट कन्ट्रोल जडान हुने गरेको एक व्यवसायीले बताएका छन् । यस वापत उनी वार्षिक रूपमा एउटा पम्पबाट १५ देखि २५ हजार रुपैयाँसम्म लिने गरेका थिए । यस्ता पम्पहरूको संख्या उपत्यकामा मात्र करिब २५ सय वटा रहेका छन् । यदि कुनै पम्पले उनको प्रस्ताव मानेनन् भने व्यवसायीलाई अनुगमनका नाममा फसाउने गरेको व्यवसायीको गुनासो छ । पक्राउ गरेर अनुसन्धान गरिरहेको साहको बारेमा प्रहरीले पनि प्रारम्भिक रूपमा त्यही त्यस्तै केही तथ्यहरू फेला परेको जनाएको छ ।

त्यसैगरी आइतबार प्रहरीको फन्दामा परेका रविन शर्मा अमलेखगञ्जमा रहँदा नै विवादास्पद बनेका व्यक्ति हुन् । उनी शक्तिकेन्द्रको बलमा ०७० साल साउनमा थानकोट डिपो प्रमुख बनेर आएपछि तेलमा हुने झेललाई संस्थागत रूपमा सुरु गरेको आरोप लागेको छ । शर्मा थानकोटमा गएपछि उनले आफू खुुसी र महिनावारी बुझाउने पम्पहरूलाई मात्रै तेल दिन थालेका थिए । उनलाई रिझाएपछि मात्र तेल पाउने भएपछि धेरैले उनलाई सबै किसिमको कोसेली पु¥याउनुपर्ने भएको भुक्तभोगीहरूले बताएका छन् । तेल ल्याउनकै लागि उनलाई कमिसनदेखि विभिन्न किसिमका उपहारसमेत दिने गरेको एक पम्प सञ्चालक बताए । उनले भने, ‘पैसा बुझाएन भने उनीबाट तेल पाइँदैन । तेल दिने र नदिने उनकै हातमा थियो । त्यसैले पम्प बन्द गरेर बस्नुभन्दा १० देखि १५ हजार मासिकरूपमा बुझाएर तेल ल्याउने गरिएको थियो ।’

भारतको नाकाबन्दीपछि शर्माको यो धन्दा झन् फस्टायो । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार शर्माले ठूला आयोजनालाई बल्क (ठूलो परिमाण)मा तेल दिँदा ७÷८ लाख रुपैयाँसमेत लिने गरेको देखिएको छ ।

थानकोट ठगीको सुरुआत

१ ट्यांकरमा १२ हजार लिटर तेल अट्छ । तर, थानकोट डिपोबाट १२ हजार भनेर दिइने तेलमा नै ठगी हुने गरेको देखिएको छ । व्यवसायीहरूले तेललिन जाँदा अग्रिम ८ लाख डिपोजिट गर्ने गरेका बताएका छन् । तर, तेल लिन जाँदा १२ हजार लिटरभन्दा कम तेल पाउने गरेको उनले गुनासो गरेका छन् । उनीहरूका अनुसार १२ हजार भनेर दिइने तेल ११ हजार ७ सयदेखि ८ सय लिटर मात्र तेल हुन्छ । नापतौल विभागकै मिलोमतोमा ठगी गर्ने गरेको व्यवसायीहरूको आरोप छ । आयल निगमले नै कम तेल दिएपछि आफूहरूले पनि उपभोक्ताहरूलाई ठगी गर्ने गरेको उनीहरू बताउँछन् । अपराध महाशाखाले यसबारे अनुसन्धान गरिरहेको छ

अर्कोतिर थानकोट वा अमलेखगञ्जबाट तेल ल्याउँदा ट्यांकर चालकहरूले पनि तेल चोरी गर्ने गरेको व्यवसायीहरूको गुनासो छ । समान्यतया २० देखि ४० लिटरसम्म तेल निकाल्दा व्यवसायीहरूले वास्ता नगर्ने गरेका छन् । केही भनिहाले भोलिबाट तेल ल्याउँदिन भन्ने गरेको उनीहरूको गुनासो छ । तेल तस्करीको अनुसन्धान गरिरहेको अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल पनि यसलाई स्वीकार गर्छन् । यसअघि आफू नारायणी अञ्चलमा रहँदा पनि तेल चोरी गर्दै गरेका चालकहरूलाई पक्राउ गर्दा उनीहरूले आन्दोलन गरेको खनालले सुनाए ।

प्रहरीको अनुसन्धानकै क्रममा एकैजनाले भाडामा लिएर ७ देखि ९ वटासम्म पम्प सञ्चालन गरेको पाइएको छ । टंककुमार श्रेष्ठले काठमाडौं, भक्तपुरदेखि अमलेखगञ्जसम्म पम्प चलाएका भेटिएको हो । उनी यसअघि पनि ठगीमा पक्राउ गरेर ३० लाख रुपैयाँ धरौटीमा छुटेका व्यवयायी भएको पाइएको छ । उनले प्रशान्ति, बंगलामुखी, इलाइट, गुहेश्वरी, न्यू लामा, जलपालगायतका पम्प चलाएका रहेछन् । उनी अहिले फरार छन् । र, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एक व्यवसायीले बताएअनुसार दिनमा ५–६ हजार लिटर डिजेल तथा पेट्रोल बिक्री हुने पम्पबाट आयल निगमदेखि नापतौल विभागसम्म बुझाएर पनि मासिक ३ लाखभन्दा बढी कमाइ हुने गरेको छ । यसले मिलेमतोमा उपभोत्तालाई ठगी गर्ने र पैसा कमाउने धन्दाका लागि भाडामा पम्प चलाउनेहरू बढेको छg ।

प्रतिक्रिया