कमान्डर अधिकृत तालिम सुरु

काठमाडौं । सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनी नुवाकोटमा मंसिर २७ गतेदेखि सि.सं. १५ गुल्मपति तथा स्टाफ तालिमको सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले प्रथम प्रवचन गर्दै तालिमको सुरुआत गरेका छन् ।

महानिरीक्षक श्रेष्ठले त्यसअवसरमा कार्यक्षेत्रमा प्रदर्शन गर्ने दक्षता र कार्यक्षमता तालिमले प्रदान गर्ने भन्दै प्रशिक्षार्थीहरूले अनुशासित र लगनशील भई सामूहिक तथा व्यक्तिगत रूपमा तालिम पूरा गर्नुपर्ने बताएका छन् । उनले म्यानेजमेन्ट लेबलका कर्मचारी सक्षम र दक्ष बनाउन यस तालिमको परिकल्पना गरिएको भन्दै तालिमबाट आर्जन गरेको ज्ञान तथा कलाकौशल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खटिँदा समेत सहायक सिद्ध हुने बताएका छन् । उनले परिवर्तित समय र परिस्थिति अनुसार संगठनको निर्दिष्ट लक्ष्य र उद्देश्य परिपूर्तिका लागि कमान्डर तहका अधिकृतहरूको पेसागत क्षमता विकासमा यस प्रकारको तालिम महत्वपूर्ण रहने बताए ।

कार्यक्रममा सो तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्नेक्रममा तालिमले पेसागत दक्षता प्रदान गर्ने भएकाले प्रशिक्षार्थीहरूले अनुशासनलाई कायम राख्दै तालिम पूरा गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालले तालिमसम्बन्धी योजना सुनाउँदै १२ हप्ता अवधिको उक्त तालिममा कूल ३० जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरू प्रशिक्षार्थीको रूपमा सहभागी रहने बताएका थिए । (सौस)

प्रतिक्रिया