इन्धन अभावले इँटा उद्योग संकटमा

mainकाठमाडौं, २६ मंसिर । विगतका वर्षमा नयाँ इँटा उत्पादन गर्न भ्याइनभ्याई हुने भक्तपुरका ६१ वटा इँटाभट्टा बन्द हुने अवस्थामा पुगेका छन् । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि र भारतबाट कोइला र कामदार ल्याउन नसकेपछि भक्तपुरका इँटाभट्टा व्यवसायीले इँटा उत्पादन गर्न नसक्ने भएका हुन् ।

‘जिल्लाका इँटाभट्टा सञ्चालकले कात्तिकदेखि नै कामदार ल्याउन नाइके र कामदारलाई २० लाखदेखि ४५ लाखसम्म पेस्की दिएका छन, इन्धन अभावले कामदारलाई बोलाउन सकिएको छैन, लगानी नै डुब्ला भन्ने डरले सताउन थाल्यो’ भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बाले गुनासो गरे ।

‘भूकम्पले सबै चिम्नी ढल्यो, भएको काँचो इँटा पनि पोल्न सकिएन, इँटा पोल्न ल्याएको कोइला पनि घामपानीले बिग्रियो, इँटाभट्टालाई डिजेल चाहिन्छ तर डिजेल नपाउँदा, भत्केको चिम्नी हटाउनसमेत पाइएन,’ उनले भने । गत १२ वैशाखको भूकम्पका कारण भक्तपुरका प्रत्येक इँटाभट्टामा ४० लाखभन्दा बढी क्षति भएको व्यवसायी बताउँछन् ।

एउटा इँटाभट्टाको चिम्नी, म्यान, नाली, डग, गाह्रो पुनः बनाउन करिब २२ लाख थप खर्च भएको व्यवसायीको भनाइ छ । अध्यक्ष ह्याम्बा भन्छन, ‘इँटा पोल्नका लागि बिहारबाटै मान्छे ल्याउनुपर्छ, कोइला पनि भारतबाटै ल्याउनुपर्छ, डिजेल मात्रै पाइएको भए पनि कम्तीमा पेस्की दिएका विभिन्न जिल्लाबाट आउने कामदार ल्याएर इँटा बनाउने काम सुरु गर्न पाइन्थ्यो, इन्धन अभावले काम सुरु नै गर्न पाइएन ।’

व्यवसायीले इँटा पार्ने मजदुरका लागि झ्याउलीमा ग्यास, खाना खाने व्यवस्था र आधुनिक प्रविधिबाट माटो मुछ्ने मेसिन चलाउन डिजेल चाहिने भए पनि त्यसको व्यवस्था गर्न नसक्दा इँटा उत्पादन नै अन्योल बनेको हो ।

इन्धन अभावले भूकम्पपछि बिक्री नभएका इँटासमेत बिक्री गर्न नपाएको व्यवसायीको गुनासो छ । भक्तपुरमा मात्रै करिब ७ करोड इँटा बिक्री गर्न बाँकी रहेको अनुमान व्यवसायीको छ ।

इन्धन अभावले इँटा लैजान साधन नचल्ने र भूकम्पपीडितले घर बनाउने काम सुरु नगर्दा इँटा बिक्री हुन नसकेको हो ।

विगतका वर्षका कात्तिकदेखि नयाँ इँटा बनाउने र पुसदेखि इँटा पोल्ने काम सुरु हुनेगरे पनि यसवर्ष भने काँचो इँटा नै उत्पादन गर्न सकिएको छैन । काठमाडौं इँटा व्यवसायी संघका अध्यक्ष केदार गोसाइले गत वैशाखको भूकम्पले काठमाडौंमा मात्रै करिब २० करोड बराबरको क्षति भएको बताए ।

भूकम्पले थलिएका व्यवसायी नयाँ इँटा उत्पादनमा जुर्मुराएको बेलामा नाकाबन्दीका कारण इन्धन अभावले मजदुर ल्याउने कि नल्याउने भन्ने अन्योलमै रहेको बताए । गोसाईले भने, ‘गतवर्षको इँटा पनि बिक्री भएको छैन, मंसिरबाट सुरु हुनुपर्ने इँटा उत्पादन इन्धन अभावले सुरु गर्ने कि नगर्ने अन्योलमा परेका छौँ ।’

केन्द्रीय इँटा बिक्री केन्द्रका सञ्चालक नविन प्रजापति नगरपालिकामा नक्सा पास सुरु भएपछि एक महिनायता इँटाको माग बढे पनि इन्धन अभावले भएको इँटा बिक्री गर्न नसकिएको र समयमै नयाँ इँटा पनि उत्पादन नहुँदा पुनर्निर्माणमै समस्या आउने बताउँछन् ।

प्रतिक्रिया