मंसिरमै ‘मकैको अर्कै खेती’

makai ko arkai khetiकाठमाडौं, २६ मंसिर । कृषि प्रधान भनिएको नेपालका किसानहरू अहिले मुख्य अन्नबाली धान थन्क्याउने चटारोबाट फुर्सद लिने तरखरमा छन् । तर, राजधानीको थिएटर भिलेजमा भने नाटक मञ्चनमा कलाकार भने मंसिरमै ‘मकैको अर्कै खेती’ गर्न व्यस्त छन् ।

डा.सञ्जीव उप्रेती लेखन तथा विमल सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक गत मंसिर १८ गतेदेखि आइतबार (२७ मंसिर) सम्मका लागि मञ्चन हुँदै छ । १९४६ सालतिर सुब्बा कृष्णलाल अधिकारीले लेखेको ‘मकैको खेती’ नामक पुस्तक १९७७ तत्कालीन समयमा १ हजार प्रति प्रकाशित भएको थियो । पुस्तक लेखक अधिकारीले कुन सन्दर्भमा लेखे, त्यसको लेखाजोखा अभैmँ सकिएको छैन । तर, तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले उनको पुस्तकलाई विशुद्ध कृषि शिक्षासम्बन्धी पुस्तकका रूपमा मात्रै लिन इन्कार गर्दै गाथगादी ताकेको अभियोग लगाएर बन्दी बनाएको थियो । बन्दी समयमै लेखकको मृत्यु भएको थियो ।

मञ्चन भइरहेको ‘मकैको अर्कै खेती’ मा कथा आपैmँ बोल्छ । भूकम्पका कारण छियाछिया भएको जनजीवन सामान्य भइसकेको छैन । देशको अर्थतन्त्र डामाडोल छ । राजनीतिले पनि सही दिशा लिन सकेको छैन । यस्तो बेला एक लेखकको ‘मकैको अर्कै खेती’ नामक पुस्तक प्रकाशित हुन्छ । पुस्तकमा लेखिएको हुन्छ, ‘सेता राता दुवै किसिमका किराले मकैलाई खत्तम गर्छ ।’ देशको अर्कै हालत भएको बेला लेखकले मकैको खेती गर्न सिकाउने पुस्तकप्रति प्रशासनलाई शंका लाग्छ । यही निहुँमा लेखक समातिन्छ र अदालतमा मुद्दा चलाइन्छ । अदालतमा लेखकमाथि विभिन्न आरोप लाग्छ । स्वाभिमानी भए पनि गरिब लेखक आफ्नो पक्षमा वकिल राख्ने हैसियत पनि राख्दैनन् । लेखक घर भाडा तिर्न नसकेका, गर्भवती पत्नीको इच्छा अनरूप घरपरिवार चलाउन नसकेका र बढेका छोरी–चेलीलाई ज्वाइँ खोज्न नसकेका निरीह प्राणी छन् । अर्कोतिर प्रतिपक्षका वकिल भने लेखकको पुस्तक लेखनको नियतमा प्रश्न चिह्न उठाउँदै अनेकथरिका साक्षी झिकाउँछन् । पुस्तक लेखेर राष्ट्रघाती काम गरेको छ’ जस्ता आरोप खेपेको लेखकप्रति समीक्षक पनि शंका गर्दै भन्छ, ‘भूकम्पको बेला खेतीको बारेमा लेख्नुको अर्थ अर्कै हुन सक्छ ।’

‘पुस्तकमा नारीको उपस्थिति नगन्य रहनुले लैंगिक विभेद देखाउँछ ।’ आरोप लगाउनेमा तेस्रो लिंगी पिंकी, गरिबका पक्षमा वकालत गर्ने अर्जुन सिंहदेखि मकैको खेतीलाई पहाडे बाहुन, क्षेत्रीले मात्रै गर्ने भनेर जातीय विभाजन र भौगोलिक विभेदको बीउ रोपेको आरोप लगाउने मधेसका मन्दीपकुमारसम्मका पात्रले लेखकप्रति शंकैशंका गर्छन् । ज्योतिषले भने लेखक र कलाकार छाडाभई अनिष्ट भएर भूकम्प आएको बताइरहँदा नेवारी मूलका लेखककै घरबेटी रामप्रसादले लेखक पक्कै पनि विदेशी दलाल हुनुपर्ने बताउँछन् । उनले नत्र कोठामा महँगो ह्विस्कीको बोतल कताबाट आयो ? आपतमा परेको लेखकलाई उनकै प्रकाशक पनि आरोपै लगाउँछन् । अन्तमा, सदियौँ अघि मरिसकेको एक विदेशी समालोचक पनि (प्रेत भएर) लेखकविरुद्ध कठघरामा उभिएर भन्छ, ‘कृति सार्वजनिक भएपछि लेखक जिउँदो रहँदैन ।’ त्यसपछि अदालतले पैmसला सुनाउँछ, ‘त्यसो भए लेखक मरिसक्यो ।’ न्यायाधीश, वकिल र साक्षीहरू सबैले लेखकले असान्दर्भिक पुस्तक लेखेको निष्कर्ष निकाल्छन् । उनीहरूको एउटै प्रश्न छ, ‘देश भूकम्पले जर्जर भएको बेला मकैकै खेतीका बारेमा नै किन लेखेको ?’ लेखक लेखकीय स्वतन्त्रताको पक्षमा बोल्दै भन्छन्, ‘अन्न र कागज किन्न नसक्ने यो देशका जनताका मनमा म लेखिरहन्छु’ । यहाँ स्वतन्त्र लेखकलाई सत्ता केन्द्रले सधैँ अंकुश लगाउन खोज्छ । यो क्रम चलिरहेको छ ।’

‘मैले मकैको खेती साधारण किसानका लागि लेखेको हुँ’ भनेर लेखकले विभिन्न तर्क तथा स्पष्टीकरण दिन्छन् तर, उनी सफल हुँदैनन् । पुस्तक लेखेकै कारण सुब्बा अधिकारी जस्तै नाटकका प्रमुख पात्र (डा. उप्रेती) पनि जेलमा जाकिन्छन् । यसले लेखेर बाँच्न सकिने वातावरण अभैm सिर्जना भइसकेको छैन भन्ने बोल्छ । धेरै विषयवस्तुलाई पुस्तकमा अटाउने लेखकको आफ्नै घरभित्रको कथा कस्तो हुन्छ भन्ने कुरा नाटक हेरेर बुझ्न सकिन्छ । लेखकलाई दिइने पुरस्कारमाथि पनि पैसाको चलखेल हुने पक्षलाई नाटकले व्यंग्य गरेको छ ।

नाटकमा समसामयिक राजनीति, साहित्य र संस्कृति जस्ता गहन विषयवस्तुलाई देखाइए पनि सामान्य दर्शकलाई पनि नाटक बुझ्न गाह्रो छैन । आन्तरिक समस्या समाधान गर्न पनि विदेशीको आदेश पर्खने नेपाली राजनीतिक परम्परालाई व्यंग्य गर्दै नाटक अन्त्य हुन्छ । जसको व्यंग्यस्वरूप विदेशी लेखकले मृतक ठहर गरेपछि मात्र आरोपित जिउँदो लेखकलाई अदालतले मरेको घोषणा गरेको देखाइएको छ ।

डा. उप्रेतीका अलावा नाटकमा अर्चना थापा, प्रश्ना डंगोल, सन्देश शाक्य, रब्गातेन्जिङ तुलाधर, बिपुल पाण्डे, रूपेश सुवेदी, सुजन ओली, सरोज अर्याल, निराजन रेग्मी, डार्विन लुंगकली, शतिश प्रसाई, विजय ताम्राकार, इस्तु कार्की, मीरा गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । मञ्चन भइरहेको ‘मकैको अर्कै खेती’ पुस्तकका रूपमा बजारमा आइसकेको छ ।

प्रतिक्रिया