संविधानमा हिन्दू शब्दको खोजी

काठमाडौं, २६ मंसिर । नेपालको संविधानबाट ८० प्रतिशतभन्दा बढी हिन्दूको बाहुल्यता हराएकोमा काठमाडौं कमलाक्षी निवासी हिरेन्द्रबहादुर ताम्राकारले असन्तुष्टी व्यक्त गरेका छन् । उनले ८० प्रतिशत हिन्दू रहेको मुलुकको नयाँ संविधानमा एक ठाउँम पनि हिन्दू शब्द नपरेको भन्दै आश्चर्य प्रकट गरेका हुन् ।

शनिबार आयोजित साक्षात्कार कार्यक्रममा काठमाडौं कमलाक्षी निवासी ताम्राकारले धर्मनिरपेक्षताको आडमा संविधानमा बहुसंख्यक जनताले ग्रहण गरिआएको हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित एउटा पनि शब्द उल्लेख नगरिएकोमा दुखेसो पोखेका हुन् ।

उनले अत्यन्तै सानो संख्यामा रहेका धार्मिक समुदायको नाममा आयोग गठन गर्नेमात्र नभई ८ वटा धाराको १२ स्थानमा उनीहरूको समुदायको शब्द प्रयोग भएका भन्दै यसले विभेद भएको पुष्टि गरेको बताए । ०७२ असोज ३ गते जारी भएको संविधानमा धार्मिक भावनालाई समेट्न नसक्दा तराई मधेसको आन्दोलन, नाकाबन्दी र सवारी साधनसमेत सडकमा जोरबिजोर गरेर चलाउनुपर्ने अवस्था सिर्जना भएको अर्कावक्ता मातातीर्थका बालगोपाल खड्काले दाबी पेस गरे । धार्मिक विभेदकारी शब्दावली वदर गरी साविककै निरपेक्षता कायम गराउनका लागि उत्प्रेषणलगायतको आदेश र पुर्जी जारी गरीपाउँ भनी आफूलगायत ५ जनाले सर्वोच्च अदालतमा रिटका लागि तयारी गरिसकेको उनीहरूले जानकारी दिएका छन् ।

कुनै समुदाय र धर्मलाई विशेष प्रकारको बढावायुक्त व्यवस्था गरिनुले अरू धर्मलाई विभेद हुन जान्छ भन्दै उनीहरूले धर्म निरपेक्षताको मूलमर्म विपरीत, गैरसंवैधानिक, विभेदकारी र अन्यायपूर्ण धारा आफँैमा बाझिएकाले प्रस्तावना र मौलिक हकअन्तर्गतका ती प्रावधानलाई बदर गराउन माग गरिने बताएका छन् । संविधान जारी भएपछि दिगो शान्ति स्थापना भई मुलुक समृद्धिको बाटोमा जाने भनेर राजनीतिक दलका नेताहरूले दिएको अभिव्यक्तिलाई अहिलेको असहज परिस्थितिले उपहास गरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया