हडतालले अस्तव्यस्त मायादेवी मन्दिर

photo mayadebiभैरहवा, २५ मंसिर, । लुम्बिनीस्थित मायादेवी मन्दिरको अवस्था अहिले अस्तव्यस्त बनेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको रूपमा चिनिने मन्दिरका कर्मचारीहरूले गरेको हडतालका कारण बन्द हुने अवस्थामा पुगेको हो ।

३ महिना यताको मधेस आन्दोलन र बन्दको चपेटामा परेको मायादेवी मन्दिर कर्मचारीको आन्दोलनका कारण अस्तव्यस्त बनेपछि यतिबेला खासगरी विदेशी पर्यटकहरूको मुख्य आकर्षण स्थल मानिने लुम्बिनीको अवस्था दयनिय देखिन थालेको छ ।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले राजधानीमा रहेको विमानस्थल र पशुपतिको ट्वाइलेट निरीक्षण गर्न पटक–पटक पुग्ने तर अहिले सम्म एकचोटि पनि लुम्बिनीका बारेमा चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

कोष कर्मचारीहरूको झगडा र वेवास्ता कारण लुम्बिनीको मुख्य केन्द्रविन्दु रहेको मायादेवी मन्दिरमा अहिले सजिलै कुकुरहरू प्रवेश गर्ने गरेका छन् । पदाधिकारीहरू घुमघाममा व्यस्त रहेको र बाँकी कर्मचारीहरू कार्यालयमा ताल्चा लगाएर आन्दोलनमा उत्रिदा लुम्बिनीको मुख्य केन्दविन्दु मायादेवी मन्दिरको अवस्था दयनीय बन्न थालेको स्थानीयले चिन्ता गरेका छन् ।

कर्मचारीको वेवास्ताका कारण मायादेवी मन्दिरको सौन्दर्यलाई चारैतिरबाट झाडीले ढाक्न थालेको छ । मायादेवी मन्दिरको चारैतिर बनाइएको तालम पलाएको झाडीसमेत सफा गर्ने कोही निस्किएको छैन । मन्दिर परिसरमै वरिपरि उम्रिएको घाँस काट्न समेत अहिले कोही कोषका कर्मचारी अघि नसरेको बताइएको छ ।

कोषमा करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरूले विभिन्न माग राखेर लुम्बिनी विकास कोषको कार्यालयमा ताला बन्दी गरेका छन् । स्थायी कर्मचारी एवं कोषका पदाधिकारीहरू भने कोही घरमा बसेका छन् भने कोही काठमाडौंतिर घुमघाम गर्नमा व्यस्त रहेको तल्लो तहका कर्मचारीहरूले बताएका छन् ।

प्रतिक्रिया