छाउपडीमुक्त भयो ढिम्कोट गाउँ

जुम्ला, २४ मंसिर । जुम्लाको कुडारी गाविस वडा नं ९, ढिम्कोट गाउँलाई छाउपडीमुक्त गाउँ बनाइएको छ । सेफ एबर्सन एक्सन फन्डको सहयोग, एक्सन वक्र्स नेपालको सहजीकरण तथा कालिका मितेरी महिला समूह, ढिम्कोटको आयोजनामा सो गाउँलाई छाउपडीमुक्त गाउँ घोषणा गरिएको हो ।

झन्डै साढे दुई वर्षको लामो प्रयासपछि उक्त गाउँलाई छाउपडी मुक्त घोषणा गर्न सफल भइएको एक्सन वक्र्स नेपालका तालिम तथा क्षमता विकास अधिकृत सुमन पाठकले बताए । अधिकृत पाठकका अनुसार ढिम्कोट अब जुम्ला जिल्लाको नमुना गाउँमा परिणत भएको छ ।

अहिले गाउँका सबै महिला छाउ हुँदा गोठमा बस्दैनन् । ४१ घरधुरी भएको उक्त गाउँलाई छाउपडी मुक्त बनाउन पुरुषको अधिकतम सकारात्मक सहयोग रहेको अधिकृत पाठकको भनाइ छ । छाउ भएको समयमा महिलाहरू गोठमा बस्दा हिंसाको सिकार हुनुपर्ने बाध्यताबाट सदाका लागि मुक्त भएको मितेरी समूहका अध्यक्ष कालिका शाहीले बताइन् । सार्वजनिक कार्यक्रमबाट ढिम्कोटलाई छाउमुक्त गाउँ घोषणामा सहयोग पु¥याउने संस्था एक्सन वक्र्स नेपाललाई अध्यक्ष शाहीले धन्यवाद दिएकी छन् ।

कुडारी स्वास्थ्य चौकीका इन्चार्ज तिलकबहादुर शाहीले सदियौँदेखिको परम्परागत हिंसाबाट मृत्युवरण गरेका महिलाले अबबाट मुक्ति प्राप्त गरेको दाबी गर । उनले सहयोगी संस्था एक्सन वक्र्स र छाउमुक्त गाउँ बनाउन विशेष योगदान पु¥याउने कालिका शाहीलाई बधाई दिएका छन् । यो कार्यक्रममा कुडारी–५ जुम्लाका समाजसेवी प्रदीप शाहीले महिलामाथिको दमन र हिंसा गर्ने प्रथाको अन्त्य गरिएकोमा खुसी व्यक्त गरेका छन् । यस कार्यक्रमलाई जिल्ला तथा कर्णाली अञ्चलभरि व्यापक बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया