कसले सुन्ने तेस्रोलिंगीको पीडा ?

काठमाडौं, २३ मंसिर । जन्मदाँ पुरुष अहिले महिला कसरी हुन्छ ? सूर्योदय माध्यमिक विद्यालय मैतिदेवीकी शिक्षिका रोशी श्रेष्ठले तपाईहरु जन्मजात तेस्रोलिंगी त होइन नि भनेर प्रश्न गरिन् । केटा, केटी र तेस्रोलिंगी भेट्दा कोसँग बढी घुलमिल हुन रुचाउनु हुन्छ ? आनन्दभूमि माध्यमिक विद्यालयका शिक्षक अर्जुन खतिवडाले यो प्रश्न गरिरहँदा एकजना विद्यार्थीले अर्को प्रश्न गरे, केटाकेटा र केटीकेटीको सम्बन्धले त बच्चा हुँदैन होला ? तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले आफ्नो समुदायबारे जनचेतना दिँदै गर्दा यी र यस्तै धरै प्रश्नहरु गरिए ।

युनेस्कोको सहयोगमा समलिंगी तेस्रोलिंगी र अन्तरलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले गरेको पर्पल माई स्कूल अभियानका क्रममा मैतिदेवीका सूर्योदय र आन्दनभूमि विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीले चासोपूर्वक यो विषयमा बुझ्ने प्रयास गरेका हुन् ।

तेस्रोलिंगी अधिकारकर्मी श्रेष्ठले आफू जन्मदाँ छोरा भएको र हुर्कदै बढ्दै जादाँ छोरीको हाउभाउ स्वभाव आएको वताइन् । कतिपयले हामीलाई अप्राकृतिक भन्छन् श्रेष्ठले भनिन्, ‘छिःछिः र दूरदूर गर्ने समजमाका अगाडि तेस्रोलिंगी बन्ने रहर लागेर बनेको हुँ र ?’ उनले आफू चाहेर पनि पुरुष बन्न नसक्ने बताइन् । उनले आफू धेरै तेस्रोलिंगीमै घुलमिल हुने गरेको र बच्चा जन्म दिन नसके पनि अनाथ बालबालिकालाई स्वीकार गरेर पालनपोषण गर्ने इच्छा रहेको बताइन् ।

शौचालय कुन प्रयोग गर्नु हुन्छ नि ? एक विद्यार्थीको प्रश्नमा श्रेष्ठले आफू महिलाकै शौचालय प्रयोग गर्ने र जन्मदा महिला हुर्कदै बढ्दै जाँदा पुरुष हाउभाउ स्वभाव भएको तेस्रोलिंगी पुरुषले पुरुषकै शौचालय प्रयोग गर्ने गरेको वताइन् । तेस्रोलिंगी महिला भएकै कारण आफूले शिक्षक, शिक्षिकाको विभेद र दुव्र्यवहार सहन नसकेर विद्यालय स्तरको अध्ययन नै पूरा गर्न नपाएको वताउँदै उनले भनिन्,‘तपाईहरुको विद्यालयमा हामीजस्ता विद्यार्थी भएमा निर्धक्क विभेद र दुव्र्यवहार नगरी पढ्ने वातावरण बनाइदिनुहोस्, डर र त्रासका कारण खुल्न नसकेकाहरुलाई खुल्ने वातावरण बनाइदिनुहोस् ।’

पर्पल माई स्कूल अभियानमा सहभागी शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले विद्यालय स्तरको पाठ्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकको विषय राख्न सकिने बताए । ‘पाठ्यक्रममा राख्ने र शिक्षक तालिममा समेत यो विषय लैजान सकिन्छ,’ सहसचिव लम्सालले भने, ‘परिवर्तन सजिलो नभए पनि एकले अर्कालाई सम्मान गर्न विद्यार्थी परिवर्तनका दूत बन्न सक्छन् ।’ उनले फरक पहिचान भएकै कारण शिक्षा लिन पाउने अधिकारबाट कसैलाई पनि बञ्चित गर्न नहुने बताए ।

‘सबैका लागि स्कूल रमाइलो र जाउँजाउँ लाग्ने हुनुपर्छ,’ सहसचिव लम्सालले भने, ‘चारजना मिलेर फरक पहिचान बोकेका व्यक्तिलाई जिस्क्याउने काम नहोस् ।’ उनले एउटासँग नभएको क्षमता अर्कोसँग हुने भन्दै विविधतालाई सम्मान गर्नुपर्ने बताए ।

नीलहिरा समाजमा सुवाष पोखरेलले कक्षा ६, ७ र ८ को पाठ्यक्रममा यो समुदायको विषय राखे पनि शिक्षक शिक्षिकाले विद्यार्थीलाई बुझाउन नसकेको बताए । ‘यो विषयमा मन्त्रालयले शिक्षक शिक्षिकालाई तालिम दिनुपर्ने होइन ?’ भनेर पोखरेलले प्रश्न गर्दा सहसचिव लम्सालले भने, ‘कुनै गारो छैन आउनुहोस् बसौँ, छलफल गरौँ र समाधानतिर लागौँ ।’

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीका नेपाल प्रदेशीय प्रतिनिधि रेणु मेयरले नेपाल सरकारले यो समुदायलाई सहर्ष स्वीकार गर्न र अधिकार दिनु राम्रो काम भएको बताइन् । उनले कतिपय देशका सरकार पुरातनवादी सोच बोकिरहेका र ती देशमा यो समूदाय सदियौँदेखि अधिकारविहीन भएर बस्नुपरेको बताइन् । मेयरले समलिंगी तेस्रोलिंगी र अन्तरलिंगी विद्यार्थी भएकै कारण शिक्षा लिन पाउने अधिकारबाट वञ्चित हुनु नपर्ने सरकारको प्रतिवद्धताको स्वागत गरे । ‘केही घटनाले यो समुदायका विद्यार्थी स्कूल जान चाहँदैनन्,’ उनले भनिन्, ‘विद्यालयमा यो समुदायका विद्यार्थीलाई सम्मान र माया गरिदिनुहोस् ।’

प्याब्सनका अध्यक्ष लक्षबहादुर केसीले समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगीको विषयमा रेडियो कार्यक्रम पहिचानमार्फत् जान्न पाएको बताउँदै यो समुदायका व्यक्तिलाई विभेद, दुव्र्यवहार गर्न नहुने बताए । तेस्रोलिंगी अधिकारकर्मी सुदीप गौतमले आफू तेस्रोलिंगी भएकै कारण शिक्षा लिन पाउने अधिकारबाट वञ्चित भएकाले आफूजस्ता विद्यार्थीलाई शिक्षा लिने अधिकारबाट वञ्चित नगराउन आग्रह गरे । ‘समलिंगी वा तेस्रोलिंगी विद्यार्थी आएमा माया र सम्मान गरिदिनुहोला,’ गौतमले भने, ‘छक्का, हिजडा भन्ने शब्द प्रयोग गर्दा धेरै चित्त दुख्छ, यो शब्द प्रयोग नगरिदिनुहोला ।’ युएनडिपीका भरत श्रेष्ठले पर्पल माई स्कूलमा सहभागी हुन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया