रुपेन्देहीमा आन्दोलनकारी पक्राउ

रुपेन्देही, २० मंसिर । नाका अवरोध गर्न पुगेका मधेशी मोर्चाका जिल्ला स्तरिय नेता सहित ६ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । विगत साढे २ महिनादेखि सिमानाका केन्द्रित आन्दोलन गर्दै आएका मोर्चाका नेता तथा कार्यकर्ताहरु आईतवार पुनः बेलहिया नाकामा अवरोध गर्न गएका बेला प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले सिमा अवरोध गर्न पुगेका संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष अजय वर्मा, महतो नेतृत्वको सद्भावना पार्टिका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव र तराई मधेश सद्भावना पार्टिका जिल्ला अध्यक्ष श्रीनिवास यादवलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरु संगै स्थानिय कार्यकर्ताहरु गणेश पाल र राजकुमार सिंहलाई पनि पक्राउ गरेको जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बेलहिया नाका धर्ना दिँदै आवागमनमा अवरोध गर्ने क्रममा पक्राउ गरेको बताए ।

यसअघि जस्तै सिमा अवरोध गर्न भारतीय भूमि पुगेका उनीहरुलाई भारतीय प्रहरीले अवरोध गर्न नदिएपछि नेपाल तर्फको भुमिमा आएको र सोहि क्रममा प्रहरी पक्राउ गरेको बताइएको छ । मोर्चाले यसअघि सीमा नाकामा गर्दै आएका अवरोधलाई भारतीय प्रहरीले सहयोग र्पुयाउँदै आएकोमा अहिले भारतका कतिपय जिल्लाहरुमा भईरहेको स्थानीय निर्वाचनको कारण देखाउंदै मोर्चाका नेता तथा कार्यकर्तालाई भारतीय भूमिमा रहेर अवरोध गर्न नदिईएको बुझिएको छ । यसअघि पनि सिमा नाका धर्ना र अवरोध गर्न पुगेका मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई बेलहिया वासीले प्रतिकार गरेपछि उनिहरुको बेलहिया नाकामा धर्ना दिने अवरोध गर्ने प्रयास असफल हुँदै आएको थियो ।

प्रतिक्रिया