माथिल्लो तामाकोसी निर्माण कार्य सुचारू

upper tamakoshiकाठमाडौं, १५ मंसिर । इन्धन पाएपछि दोलखा जिल्लामा निर्माणाधिन माथिल्लो तामाकोसी आयोजनाको निर्माणकार्य अघि बढाइने भएको छ । भूकम्पपछि नै अबरुद्ध सो आयोजनाको निर्माण कार्य इन्धन पूर्ति भएसँगै यसै हप्तादेखि अघि बढ्ने आयोजनाले जनाएको छ ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेले इन्धन पूर्ति भएसँगै बाटोमा झरेको पहिरो पन्छाउने काम सुरू हुने बताए । ‘आयोजनाको ड्यामदेखि पावरहाउस सम्म जाने बाटोलाई पहिलो चरणमा सफा गर्नेछौँ’ न्यौपानेले भने । नेपाल आयल निगमले पहिलो चरणमा ६ हजार लिटर इन्धन उपलव्ध गराएपछि आयोजनाको काम अघि बढाउन बाटो खुलेको हो ।

यद्यपी भूकम्पपछि आफ्नो ठाउँमा फर्केका कतिपय कामदारहरू भने अझँै नआएको जानकारी दिँदै न्यौपानेले आफूहरू क्षेत्रमै गएर कामलाई अघि बढाउने प्रतिबद्धता जनाए । निगमले पहिलो चरणमा दिएको ६ हजार लिटर इन्धन ४÷५ दिनलाई पुग्ने जानकारी दिँदै उनले भने ‘सम्पूर्ण चरणमा काम गर्नका लागि हप्ताको १२ हजार लिटर इन्धन चाहिन्छ, यद्यपि अहिले दिएको इन्धनले काम अघि बढ्दै गर्छ ।’ निगमले आवश्यक मात्रामा इन्धन उपलव्ध गराउने उनले विश्वास व्यक्त गरे ।

यता नेपाल आयल निगमले पनि माथिल्लो तामाकोसीलाई पहिलो चरणमा ६ हजार लिटर इन्धन उपलव्ध गराएको जानकारी दिँदै आयोजनाको निर्माण कार्यलाई इन्धन अभावको कारणले अवरूद्ध नपार्ने जनाएको छ । निगमका निमित्त निर्देशक तथा प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले विभिन्न पक्षसित आयोजनालाई इन्धन उपलव्ध गराउने सहमति भएअनुसार पहिलो चरणमा ६ हजार लिटर इन्धन उपलव्ध गराइएको बताए ।

यसैबीच नाकाबन्दी र भूकम्पका कारण आयोजनाको काम १ वर्ष पछाडि धकेलिएको छ । सन् २०१६ को डिसेम्बरसम्म पूरा गर्ने लक्ष्य लिइएको आयोजना सन् २०१७ को डिसेम्बरसम्म पुग्ने निश्चित भएको प्रवक्ता न्यौपानेले बताए । ४ सय ५६ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने प्रधानमन्त्री केपी ओलीले यसअघि श्वेतपत्र जारी गर्दा घोषणा गरेका थिए ।

माथिल्लो तामाकोसी आयोजना स्वदेशी लगानीमा बन्न लागेको आयोजना हो । भूकम्पअघि झन्डै ७० प्रतिशत काम सकिएको भए पनि भूकम्पका कारण बाटो अवरूद्ध हुनु तथा इन्टेकमासमेत क्षति भएपछि आयोजनाको निर्माण काम थप पछाडि धकेलिएको हो ।

प्रतिक्रिया