काठमाडौं, १५ मंसिर । नेपाली सिने बजारमा माघ महिनालाई फिल्म फाप्ने वर्षाको रूपमा लिइन्छ । त्यसैको परिणमस्वरूप माघ महिनालाई नै लक्षित गर्दै फिल्मका निर्माता तथा निर्देशकहरू फिल्म रिलिज गर्न मरिमेट्छन् ।
त्यसैको सिको गर्दै फन्को, काफल पाक्यो, होमवर्क, पशुपति प्रसाद, कैफियत, रिफ्युजी, बिन्दास ३, क्लासिक, प्रेम गीत र चलेछ बतास सुस्तरी भन्ने फिल्महरूले प्रदर्शनको मिति तोकेर पालो पर्खेर बसेका छन् । यसबाहेक अन्य फिल्महरू पनि प्रदर्शनमा आउने तयारीमा छ ।
यस बर्षको माघमा पनि ठूलै ब्यानरका फिल्महरूबीच नै बढी प्रतिस्पर्धा हुने देखिएको छ । जहाँ स्टार मानिएको आर्यन सिग्देलदेखि जीवन लुईंटेल, दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारीलगायतका कलाकारहरू र केहि नयाँ अनुहारहरूसँग समेत एक आपसमा प्रतिस्पर्धा गर्दैछन् । माघ १ गते ‘फन्को’ रिलिज हुँदैछ । फिल्मको ट्रेलरबाट राम्रो रिभ्यु पाएको यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, सौगात मल्ल लगायतका कलाकारहरूको अभिनय रहेको छ । १ गते नै चकलेटी नायक जीवन लुईटेल स्टारर अभिनित ‘काफल पाक्यो’ पनि रिलिज हुँदैछ । सोही मितिमा नै आर्यन सिग्देललाई फरक गेटअपमा देखाईएको गोपिकृष्ण मुभिजको ‘होमवर्क’पनि प्रदर्शनमा आउने हल्ला छ ।
यसपछि माघ ८ मा भने अहिले नै कुनै ठूलो फिल्म आउने कुरा बाहिरिएको छैन । माघ १५ मा ‘टलकजंग भर्सेज टुल्के’का चर्चित कलाकार खगेन्द्र लामिछानेको ‘पशुपति प्रसाद’ रिलिज हुँदैछ । यो फिल्मबाट निर्माण युनिटले आशा राखेका छन् । सोमबार प्रेसमिट गर्दै ‘कैफियत’ नामक फिल्मले पनि सोही मितिमा प्रदर्शन गर्ने जानकारी निर्माण टिमले दिएको छ । त्यस्तै माघ २२ मा जीवन लुईंटेल स्टार ‘रिफ्युजी’ र राजु गिरीको ‘बिन्दास ३’ रिलिज हुने बताइएको छ, भने माघ अन्तिम साता २९ गते तीन फिल्मको घमासान हुने देखिएको छ । भ्यालेन्टाईनको छेवैमा तीन फिल्म ‘क्लासिक’, ‘प्रेम गीत’ र ‘चलेछ बतास सुस्तरी’ रिलिज हुने पक्कापक्की भएको छ । कोहिपनि पछि नहट्ने बताइरहँदा यो मिति ऐतिहासिक बन्ने निश्चित छ । किनकी तीनवटै फिल्मको सांगीतिक पक्षलाई बढी प्राथमिकताका साथ लिइएको छ । यि मध्ये दुई फिल्म ’प्रेम गीत’ र ‘चलेछ बतास सुस्तरी’को भिडियो गीत रिलिज भईसकेको छ भने ‘क्लासिक’को अडियो गीत मंगलबार मात्रै रिलिज गरिएको छ ।
माघ महिनामा प्रदर्शनमा आउने फिल्म, स्टार र ब्यानरलाई मध्यनगर गर्ने हो भने माघ महिना रिलिज हुने सबै फिल्मले दर्शक तान्न हानथाप हुने हुन्छ । यस्तो अवस्थामा सबैलाई घाटा हुने पनि देखिन्छ ।
प्रतिक्रिया