सिद्धबाबा क्षेत्रको निरीक्षणमा मन्त्रीद्वय

butwalरूपन्देही, १३ मंसिर । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आइतबार पाल्पाको दोभानमा रहेको सिद्धबाबा क्षेत्रको निरीक्षण गरेका छन् । नेकपा–माओवादी (विप्लव) समूहको बन्दको प्रभाव रहे पनि प्रहरी स्कटिङमा मन्त्री तथा स्थानीय राजनीतिक दलका कार्यकर्तासहित निरीक्षण गर्न पुगेका मन्त्री पौडेल र पाण्डेले सिद्धबाबा मन्दिरमा टीका ग्रहणपछि निरीक्षण गरेका थिए । करिव ५ मिनेट निरीक्षण गरेका मन्त्री दोभान–५ झुम्सामा रहेको तिलोत्तमा उच्च माध्यमिक विद्यालयको मैदानमा पुगी सडकको अवस्था र बुटवलमा ल्याउन लागेको झुम्सा खानेपानी योजनाको बारेमा जानकारी लिए ।

सो क्रममा पश्चिमाञ्चल डिभिजन सडक कार्यालय पोखराका निर्देशक उत्तमलाल प्रधानले सिद्धबाबा क्षेत्रको सडकमा वैकल्पिक मार्गका रूपमा सुरूङ मार्ग हुन सक्ने भन्दै त्यसको सम्भाव्यता अध्ययनका लागि ३ महिनाको समय लाग्ने बताए । करिव २ किलोमिटरको सुरूङ मार्ग बनाउनुपर्ने भन्दै उनले प्राविधिक र विशेषज्ञको टोलीले कामको प्रकृति, बन्ने समय, लागत स्टिमेट गरी ३ महिनामा प्रतिवेदन दिन आफूहरू तयार रहेको बताए ।

सोही क्रममा झुम्सा खानेपानीको बारेमा मन्त्रीहरूलाई जानकारी दिँदै खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले झुम्सा खानेपानी योजनाको काम ७० प्रतिशत सकिएको जानकारी दिए । उनले अहिलेको परिस्थिती सुल्टिएमा ३ महिनामा बुटवलबासीले झुम्साको खोपानी पिउन सक्ने बताए ।

पाल्पा जिल्लाका स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेले दोभानले राखेका मागहरू पाल्पाकै भएकाले दोभानका मागहरू यथोचित रूपमा सम्बोधन हुनुपर्नेमा जोड दिए । उनले सिद्धबाबाको बाटोको समस्या समाधान भएमा पर्यटकीय र विकासको संभावना थप बढ्ने बताए ।

दोभान गाविसका पूर्वअध्यक्ष लक्ष्मण थापाले झुम्सा खानेपानी बुटवलमा लगेवापत रोयल्टी वार्षिक रूपमा दोभानलाई १० लाख दिनुपर्ने माग राखे । उनले झुम्सा, गोरविन्दे वेरुवा ज्यामिरे बाटो स्तर उन्नती गर्नुपर्ने बताए ।

सो अवसरमा नेपाली कांग्रेसका लालबहादुर थापा, नेकपा एमालेका लक्ष्मण थापा, नेकपा माओवादीका नारायण थापा, राप्रपाका लक्ष्मीप्रसाद बस्यालले संयुक्त हस्ताक्षरसहित दोभानका मागहरू लिखित रूपमा ज्ञापन पत्र अर्थमन्त्री विष्णु पौडेललाई दिएका थिए ।

सिद्धबाबा क्षेत्रको निरीक्षण र झुम्सा खानेपानी योजनाको जानकारी लिएपछि अर्थमन्त्री विष्णु पौडेलले यी दुवै योजनामा बजेट अभाव हुन नदिने बताएका छन् ।

उनले सिद्धबाबाको वैकल्पिक मार्गको खोजि गरेर जोखिम न्यूनीकरण गर्न आफूहरूले केन्द्रीय तवरबाटै पहल कदमी चालेको बताए ।

उनले सिद्धबाबाको स्थायी समधान के हुन सक्छ भन्ने विषयमा छलफल भई नै रहेको र मोटामोटी छलफलबाट सुरूङ मार्ग नै विकल्प रहेको बताए । उनले भने,‘अघिल्लो बजेटमा सिद्धबाबाको पहिरो रोक्न सम्भाव्यता अध्ययनका लागि बजेट छुटाइएको छ, अब यसको वैकल्पिक स्थायी समाधान आउनेछ ।’

उनले अविलम्ब र तुरून्त संम्भाव्यता अध्ययनका लागि कन्सल्टेन्सलाई जिम्मेवारी दिनुपर्ने बताए । उनले सम्भाव्यता अध्ययन पछि मात्र यस बारेमा थप अगाडि बढ्ने बताए ।

उनले दोभान क्षेत्रको समग्र विकासको जिम्मा आफूले लिने बताए । उनले खानेपानी योजनाका मागका सम्बन्धका बारेमा सबै मागहरू सकारात्मक रहेकाले यी मागहरू संम्बोधन हुने समेत बताए ।

उनले भने, ‘यो खानेपानी आयोजनाको शीघ्र कार्यान्वयन हुन जनताहरू आतुर छन्, हामीले के गर्नुपर्छ हामीलाई भन्नुहोस्, तर आयोजना शीघ्र सम्पन्न गर्नुहोस् ।’ उनले झुम्सा बासीले बुटवललाई लगाएको गुन कसैले भुल्न नहुनेसमेत बताए ।

प्रतिक्रिया