पाँच जिल्लाको सुरक्षा रणनीतिबारे छलफल

काठमाडौं, १३ मंसिर । तराई आन्दोलनले विक्षिप्त रहेको तराईका ५ जिल्लाको सुरक्षास्थिति सुदृढ गरिने भएको छ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाको सुरक्षा अवस्था सुदृढ गर्न सुनसरीमा गृहमन्त्रीसहित उच्च सुरक्षा अधिकारीको बैठक बसेको छ ।

बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतको पूर्वीतराईका ५ जिल्लाको सुरक्षास्थितिबारे समीक्षा भएको र आगामी दिनमा अपनाइने सुरक्षा रणनीतिको निर्माण भएको बैठकमा एक सहभागी अधिकारीले बताएका छन् ।

बैठकपछि गृहमन्त्रीले अब पूर्व–पश्चिम राजमार्गमा दिउँसै गाडी चल्ने बताए । पूर्वी तराईको सुरक्षा बैठकमा गृहमन्त्री बस्नेत, गृहसचिव नारायण मलेगोका साथै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तका साथै राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेत सहभागी रहेका थिए ।

सशस्त्र प्रहरीको बराह बाहिनी पकलीमा आयोजित बैठकमा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेन्द्रप्रसाद नेपाल, पूर्वी पृतनाका पृतनापति उपरथी हरिबहादुर बस्नेत, नेपाल प्रहरीका पूर्वाञ्चल डिआइजी माधवराज जोशी र सशस्त्र प्रहरी पकली बाहिनीका डिआइजी निराकरविक्रम शाह बैठकमा सहभागी भएका छन् । बैठकमा पूर्वी तराईका ५ जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको सुरक्षा स्थितिबारे रिपोर्टिङ गरेका थिए । बैठकपछि गृहमन्त्री बस्नेतले स्थानीय पत्रकारसँग भारतसँग नझुक्ने स्पष्ट पार्दै अब राजमार्गमा दिउँसै गाडी चल्ने गरी सुरक्षाको प्रवन्ध गरिने बताएका छन् । यस लगतै गृहमन्त्री र सुरक्षा अधिकारीको टोली महोत्तरीको बर्दिबास पुगेर त्यहाँको सुरक्षा अवस्थाको बारेमा समीक्षा गरेका छन् ।

प्रतिक्रिया