एनसिसीसँग चार बैंक मर्ज हुँदै

mainकाठमाडौं, १२ मंसिर । एनसिसी बैंक र ४ वटा विकास बैंक एकै ठाउँमा मर्ज हुने भएका छन् । एनसिसीले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकसँग मर्ज गर्न लागेको हो । मर्जको लागि शुक्रबार साँझ एनसिसी बैंकको प्रधान कार्यालयमा संझौतापत्रमा हस्ताक्षरसमेत भएको छ ।

२ अर्ब २ करोड रुपैयाँचुक्ता पुँजी भएको एनसिसी बैंकसँग ४ विकास बैंक मर्ज भएपछि बन्ने बैंकसँग ५ अर्ब ३ करोड ८३ लाख रुपैयाँँको पुँजी हुनेछ । राष्ट्र बैंकको निर्देशन अनुसार नयाँ बन्ने संस्थाका लागि आर्थिक वर्ष ०७४ को असार मसान्तसम्ममा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पु¥याउन बाँकी २ अर्ब ९७ करोड रुपैयाँको आवश्यकता पर्छ ।

५ वटा बैंक तथा वित्तीय संस्थाबीच भएको सहमतिमा एनसिसी बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौला, इन्फ्रास्ट्रक्चरका अध्यक्ष इमानसिंह लामा, एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धिताल, सुप्रिम डेभलपमेन्ट बैंकका अध्यक्ष चन्द्रप्रसाद बास्तोला र इन्टरनेसनल डेभलपमेन्ट बैंकका अध्यक्ष माधवप्रसाद भट्टले हस्ताक्षर गरेका छन् ।

४ वटा विकास बैंकमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी इन्फ्रास्ट्रक्चर बैंकको छ । उसको पुँजी ८२ करोड ७५ लाख रुपैयाँ छ । यस्तै सुप्रिम डेभलपमेन्ट बैंकको ८१ करोड १६ लाख, इन्टरनेसनल बैंकको ७० करोड ४ लाख तथा एपेक्स डेभलपमेन्ट बैंकको ६६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षसम्ममा यी ५ वटा संस्थामध्ये एपेक्स डेभलपमेन्ट बैंक बाहेक सबै संस्था नाफामा रहेका छन् । एपेक्सको भने रिजर्ब पनि ७ करोड ७० लाख रुपैयाँले ऋणात्मक छ । ५ वटा संस्था मर्जपछि बन्ने नयाँ बैंकको निक्षेप ४७ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । यस्तै कर्जा पनि ३७ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । अहिले एनसिसीको मात्रै निक्षेप २६ अर्ब ६६ करोड रुपैयाँ छ भने कर्जा लगानी २१ अर्ब ४४ करोड रुपैयाँ छ ।

एनसिसी बैंकले राष्ट्र बैंकमा बुझाएको आफ्नो क्यापिटल प्लानमा पनि मर्जरबाट ३ अर्ब ७७ करोड रुपैयाँपुँजी थप्ने उल्लेख गरेको थियो । उसले चालु आर्थिक वर्षको अन्तिमसम्ममा मर्जर तथा बोनस सेयरमार्फत ७ अर्ब १४ करोड रुपैयाँ पु¥याउने उल्लेख छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूको चुक्ता पुँजी २ अर्ब रुपैयाँँबाट बढाएर ८ अर्ब रुपैयाँ पु¥याउने व्यवस्था गरेसँगै बैंकहरूले मर्जरलाई जोड दिएका हुन् ।

व्यवस्थापनमा समस्या भएपछि एनसिसी बैंकको व्यवस्थापन अहिले राष्ट्र बैंकले सम्हालिरहेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको टोलीले अहिले एनसिसीको व्यवस्थापन गरिरहेको छ । नयाँ बन्ने बैंकमा नाम, बोर्ड र सिइओ एनसिसी बैंकबाटै हुनेछ ।

मर्जका लागि सेयर स्वाप रेसियो भने डिडिएबाट आएको अंकमा समझदारी गरेर टुंगो लगाउने सहमति भएको छ । त्यसैगरी डिडिएमा कुनै पनि संस्थाको सेयर स्वाप अनुपात ५० प्रतिशतभन्दा तल आए त्यसलाई बाहिर राखेर बाँकी संस्थाबीच पनि मर्ज गर्ने गरी सहमति भएको छ ।

यो मर्जपछि एनसिसी बैंकमा एनबी समूहको सेयर स्वामित्व भने अझ कम हुनेछ । यस अघि एनबी समूह र निर्मल प्रधान समूहबीच बैंक व्यवस्थापनमा समस्या आएपछि राष्ट्र बैंकले व्यवस्थापनमा हस्तक्षेप गरेको हो । केन्द्रीय बैंकले मर्ज गरेपछि मात्रै व्यवस्थापन लगानीकर्तालाई हस्तान्तरण गर्ने रणनीतिमा काम
गरिरहेको छ ।

राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले ५ संस्थाबीच मर्जरको सहमति भएको जानकारी दिँदै अब राष्ट्र बैंकले प्राविधिक पक्षको विश्लेषण गरी मर्जरको स्वीकृति दिने बताए ।

प्रतिक्रिया