सरकारी डिपोमा शीलबन्दी

sarkari dipoma silbandi, mainरुपन्देही, १० मंसिर । नापतौल तथा गुणस्तर कार्यालय रुपन्देहीले ३ महिना अगाडि लगाएको टांचालाई गलत भन्दै कार्यालयको अर्को टोलीले भैरहवा स्थित पेट्रोलियम पदार्थ बेच्ने सरकारी डिपो बिहिबार देखि शिलबन्दी गरेको छ । नापतौलका कार्यालयका निरीक्षकको प्राविधिक अज्ञानताका कारण नेपाल आयल क्षेत्रीय कार्यालय भलबारी अन्तर्गतको एकमात्र पेट्रोल पम्पमा विहिबार सिलबन्दी गरेको हो ।

सरकारी डिपो नै बन्द भएपछि यसको प्रत्यक्ष असर सरकारी राजस्वमा पनि परेको छ । तीन महिना अगाडि नापतौल तथा गुणस्तर कार्यालय रुपन्देहीका निरीक्षक शम्भु आचार्यको नेतृत्वको टोलीले ठीक छ भनी लगाएको टांचा ३ महिनापछि स्वतः गलत भएको भन्दै शिलबन्दीमा परेको छ । त्यतिबेला लगाएको टांचा भित्र डबल एडजस्टर गियर देखिएको भन्दै सोही कार्यालयका निरिक्षक रोशन गौतमको टोलीले विहीवार डिपोको पम्पमा एकाएक शिलबन्दी गर्दा सर्वसाधरण भने अचम्भित परेका छन् । उक्त पम्पबाट सर्वसाधरणले प्रमुख जिल्ला अधिकारीको सिफारिस लिएर पेट्रोलियम पदार्थ लिने गरेका थिए । बिहिबार समेत हातमा शिफारिस बोकेर गएका सयौं मानिसहरुको अगाडि सरकारी पम्पनै सिलबन्दी भएपछि उनी निराश भएका छन् ।

प्रशासनले आयल निगम भैरहवाको पेट्रोल पम्प मिड्को मेकानिकल, मोडेल नम्बर ओ इ ५०८ र डिजल पम्प मिड्को मेकानिकल, मोडल नम्बर ओ इ ४९९ लाई तत्काल शिलबन्दी गरि विक्री वितरणमा रोक लगाएको छ । भारतीय नाकाबन्दीको कारण भारतबाट पेट्रोलिय पदार्थ सहज रुपमा नआउँदा गत साउनको अन्तिम सातादेखी भैरहवाका निजी पम्पहरुले तेल बाड्न छाडेका थिए । निजी पम्पबाट तेल नपाएका सर्वसाधरणकालागि एक मात्र सरकारी स्वामित्वको पम्प आयल निगम भैरहवा डिपोले सिडिओको सिफारिसमा डिजल पेट्रोल वितरण गर्दै आएको थियो । तर एक्कासी विहीवार नापतौल तथा गुणस्तरको टोलीले शिलबन्दी गरिदिनु रहस्यमय भएको उपभोक्ताहरुले बताएका छन् ।

नापतौलकै कर्मचारीले राखेको टाँचामा कसरी डबल गिएर प¥यो ? भन्ने स्थानीय संचारकर्मीहरुको जिज्ञासामा समेत नापतौल निरीक्षक गौतमले अनभिज्ञता प्रकट गरेका छन् । उनले माथीको कुरा भनेर टार्न खोजेका थिए । उनले भने, ‘हामीले भन्दापनि प्रहरी अनुसन्धानले काठमाडौंमा डबल गियरलाई ठगीको कारण देखाएकोले सोही अनुसार केन्द्रबाट सर्कुलर भए बमोजिम चेकजाँच गर्दा यस्तो भेटिएकाले शिल गरिएको हो ।’ तर, निरीक्षक गौतम आफैंले शिलबन्दी गरिएका पम्पबाट निकालीएको डिजेल, पेट्रोलको तौल तथा परिणाम र नापतौलको तौल परिणाम भने केही फरक नरहेको बताएका छन् । उनले नापतौलकै टोलीले ३ महिना पहिला लगाएको टांचा ठीकै भएको प्रतिक्रिया दिएका छन् ।

आयल निगम भैरहवा डिपोका प्रमुख चित्ररन्जनदासले नापतौल कार्यालयकै प्रतिनिधी राखेको टाँचा पनि ठिकै छ । उनीहरुले नै लगाएको शिल पनि ठीक छ, पम्पबाट तेल निकाली तौलिंदा पनि ठिकै छ भने यो किन शिलबन्दी गरियो भन्ने बुझ्नै नसकेको बताएका छन् । उनले भने , ‘अनियमितता भन्ने हो भने आयल निगमको पम्पबाट तेल विक्री गरिँदा प्रहरीको रोहबरमा दिने गरिएको हो ।’ नापतौल तथा गुणस्तरको टोलीले शिलबन्दी गर्न डिपोमा पुग्दा सम्म सो पम्पबाट डिजल पेट्रोल वितरण भैरहेको थियो ।

अर्कोतर्फ स्थानीय प्रशासनले आयल निगमको डिपोमा शिलबन्दी गरेसँगै तत्कालकालागि विकल्पको रुपमा भन्दै स्थानीय दुर्गा आयल सप्लायर्स प्रा.लि.भैरहवालाई सिफारिसको आधारमा तेल बाँड्ने जिम्मा दिन लागेको छ । सरकारी पम्पलाई शिलबन्दी गरेर तुरुन्त निजी पम्पलाई तेल बाँड्न दिने कुरा आएपछि सर्वसाधरणलाई भने यसले शंका उब्जाएको छ । उनीहरुले कतै कमिशनको गोल चक्कर सुरु भएको त होइन भन्नेमा सशंकित रहेको बताएका छन् । यस भन्दा अगाडि रुपन्देहीका अधिकांश सरकारी कार्यालयहरु जिल्ला प्रशासन, जिविस, नगरपालिका लगायतले उधारोमा दुर्गा आयलबाट तेल भर्ने गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले तत्कालकालागी विकल्पको रुपमा दुर्गा आयल सप्लायर्सलाई प्रहरीको निगरानीमा सिफारिसको आधारमा तेल बाड्न दिने बताए । उनले भने ‘प्रहरीले नै साँचो राखेर दुर्गा आयलबाट सिफारीसको आधारमा तेल बाड्ने छ ।’ दुर्गा आयलमा डबल एडजस्टर गीयर छ की छैन त्यो भने अनुगमन गरिएको छैन । प्रमुख जिल्ला अधिकारी ढकालले केही महिना अगाडि नापतौलकै टोलीले निरीक्षणका क्रममा ठीक छ भनी लगाएको टांचामा पनि रहस्य भएको जनाउँदै भने, ‘नापतौलकै टोलीले डबल गियर हुँदाहुँदै शिल गरेको थियो वा थिएन, त्यसमा नापतौलको संलग्नता छ छैन भन्ने विषयमा पनि अनुसन्धान गर्दैछौँ ।’ जुन निकायले चेकजाँच गरी ठीक छ भनेकोे टांचा र तौल ठीक हुँदाहँुदै शिल गरेर निजी पम्पलाई हतारमा वितरणको जिम्मा दिनुले प्रश्न उब्जाएको उपभोक्ताहरुले बताए । उनीहरुले भने, ‘यसमा कतै निजी पम्पहरुको आर्थिक चलखेल पो भयो की ?’ रुपन्देहीमा करिब २ सय ५० पेट्रोल पम्प हुदाहुदैं एक्कासी दुर्गा आयललाई दिनुमा उनीहरुले शंकागर्ने ठाउँ रहेको बताए ।

प्रतिक्रिया