कर्मचारीको काजफिर्ता गरिने

काठमाडौं, १० मंसिर । यस अघि तीन महिने काज मिलाएर हाल सम्म यथास्थानमा नफर्किएका कर्मचारीहरुलाई काज फिर्ता गरिने भएको छ । सामान्य प्रशासन मन्त्रालयले काजमा खटिएका कर्मचारीहरुलाई तत्काल फर्काउने निर्णय गरेको हो ।

आफ्नो काज सकिएपछि पनि कर्मचारीहरु अझैसम्म यथास्थानमा नफर्किएपछि सामान्य प्रशासनले यस्तो निर्णय गर्नु परेको मन्त्रालयले जनाएको छ । साउन महिनादेखि तीन महिने काज लिएका कर्मचारीहरु मंसिर एक गतेदेखि कार्यालयमा फर्किनु पर्ने थियो । तर, अझै नफर्किएपछि मन्त्रालयले निर्णय लिनु परेको सामान्य प्रशासन मन्त्री रेखा शर्माले बताइन् । उनले काज सकिए पनि कर्मचारीहरु नफर्किँदा सेवा ग्राहीको काम कारवाही प्रभावित हुने र सेवाग्राही मर्कामा पर्ने भएकाले यस्तो निर्णय गरेका बताएकी छन् ।

शिक्षा, स्थानीय विकास, कृषि, भुमिसुधार लगायतका मन्त्रालय मातहतका कार्यालयहरुका धेरै कर्मचारीहरु काजमा रहेका छन् । उनीहरुलाई अब मंसिर महिना भित्रै फर्किनुपर्ने भएको छ । तर, कुनै योजनामा अस्थायी दरवन्दीमा काजमा रहेका कर्मचारीहरुलाई भने फर्किनु नपर्ने मन्त्रालयले जनाएको छ । सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणी शर्माले कतिपय मन्त्रालय, विभाग र निकायमा काजमा खटिएका कर्मचारीहरु काजबाट अझै नफर्किएकाले फर्काउने नीतिगत निर्णय गरेका जानकारी दिएका छन् । उनले भने, ‘निजामति सेवा ऐन नियमको प्रतिकूल हुन दिँदैनौं ।’ निजामति सेवा ऐनको दफा १८ मा भएको व्यवस्था अनुसार कुनै कर्मचारीलाई सरुवा वा काजमा खटाउँदा अनिवार्यरुपमा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, उक्त व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन हुने गरेको छैन । सचिव शर्माले यसअघि सरुवा बदर गर्ने तयारी भैरहेको जानकारी गराएका थिए ।

यसैगरी सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै कार्यालयहरुलाई सरुवा गर्दा ऐन प्रतिकूल नहुने गरी सरुवा गर्न निर्देशन दिएको छ । त्यस्तै दरबन्दी खाली भएको भए त्यसको विवरण पठाउन पनि मन्त्रालय वा विभागहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आवश्यक दरवन्दी र जनशक्ति माग गरेअनुसार लोकसेवा आयोगले पदपूर्तिको व्यवस्था मिलाउँछ ।

प्रतिक्रिया