विद्युतीय सवारीको कर घटाइने

काठमाडौं, ९ मंसिर । पेट्रोलियम पदार्थको अभावले सवारी साधन आवागमनमा कठिनाई भएपछि उत्तम विकल्पको रूपमा सरकारले देशमा विद्युतीय सवारीसाधन भित्राउँदा लाग्ने भन्सार महसुल दर घटाउने तयारी गरिरहेको छ । देशमा पेट्रोलियम पदार्थको अभाव चुलिँदै जादा उपभोक्ताहरूको ध्यान विद्युतीय सवारीसाधनमा परेको हो । विद्युतीय सवारी साधनमा लाग्ने कर घटाउदा उपभोक्तालाई सहज हुने भन्दै त्यसो गर्न लागिएको हो ।

‘वर्तमानमा पेट्रोल र डिजेलको संकटका कारण धेरै समस्या भएका कारण, विद्युतीय सवारीमा जोड दिन यसको भन्सार घटाउने तयारी गरिरहेका छौँ,’ विज्ञान तथा प्रविधि मन्त्री विश्वेन्द्र पासवानले भने ।

‘भन्सार महसुल घटाउने, सबै सरकारी निकायले नयाँ सवारी साधन खरिद गर्दा अनिवार्य विद्युतीय सवारी साधन नै खरिद गर्नुपर्ने व्यवस्था र योसँग सम्बन्धित सबै विषयमा हामीले अन्य सम्बन्धित मन्त्रालयहरूसँग पनि समन्वय गरिरहेका छौँ । हामीले भोगिरहेको समस्याको समाधानका लागि यो काम यथाशिघ्र सम्पन्न गर्न प्रयासरत छौँ,’ मन्त्री पासवानले भने ।

भन्सार विभागका प्रवक्ता सूर्यराज सेढाईका अनुसार हाल विद्युतीय दुई पांग्रेमा सवारीको मूल्यको १५ प्रतिशत भन्सार महसुल दर र १३ प्रतिशत भ्याट लाग्ने गरेको छ । त्यस्तै विद्युतीय कारमा भने कारको मूल्यको ४० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट लाग्दै आएको छ ।

पेट्रोल तथा डिजेलबाट चल्ने अन्य साना सवारीसाधनमा भने भ्याट, अन्तःशुल्क, सडक शुल्क सबै गरेर २ सय २५ दशमलव ५५ प्रतिशत भन्सार कर लाग्दै आएको पनि सेढाईले जानकारी दिए ।

नेपालमा हाल अग्नी इनर्जी प्रालिले महिन्द्राको इटुओ विद्युतीय कारको बिक्री वितरण गर्दै आएको छ जसको मूल्य २४ लाख ३५ हजार रूपैयाँ छ ।

त्यस्तै विद्युतीय दुई पांग्रेमा फेयर अटोले जापानी ब्राण्ड टेर्रा र नेपाल प्राइम विजनेस प्रालिले हिरो इलेक्ट्रिकका विद्युतीय स्कुटरहरूको बिक्री वितरण गर्दै आएको छ । यस्ता स्कुटरहरूको मूल्य मोडलका आधारमा १ लाख ५ हजार रूपैयाँदेखि १ लाख ८० हजार रूपैयाँसम्म पर्दछ ।

सरकारले विद्युतीय सवारीसाधनमा लगाउने भन्सार महसुल कम गरेमा विद्युतीय सवारी साधनहरूको मूल्य पनि कम हुनेछ । ‘सरकारले भन्सार कर घटाएमा हाम्रो गाडिको मूल्य त्यसैअनुसार घट्छ, यो भनेको हामी र हाम्रा ग्राहकहरूका लागि खुसीको कुरा हो’, अग्नी इनर्जीका मार्केटिङ म्यानेजर सिजन न्यौपानेले भने ।

विद्युतीय सवारी साधनहरूले ध्वनी प्रदुषण कम गर्नुका साथै वातावरण मैत्री हुन्छन् । कुनै पनि किसिमको प्रदुषण तथा धुँवा उत्सर्जन नगर्ने विद्युतीय सवारी साधनहरूमा पेट्रोल हाल्न नपर्ने, मर्मत खर्च नलाग्ने, पेट्रोल तथा डिजेल सवारीमा पाइने सम्पूर्ण सुविधाहरू पाइने हुनाले यस्ता सवारी अहिलेको परिस्थिति र अन्य समयमा पनि उपयुक्त हुने व्यवसायीहरूले बताउँदै आएका छन् ।

विद्युतीय सवारी खरिद गरिसकेपछि वार्षिक रूपमा कुनै किसिमको कर भने तिर्नु पर्दैन । विद्युतीय स्कुटरहरूका लागि लाइसेन्स, ब्लुबुक आदि केही पनि समस्या हुँदैन । सरकारले यस्ता विद्युतीय सवारीसाधनको आयातमा लगाउने भन्सार महसुल कम गरेमा पेट्रोलियम सवारीसाधनको तुलनामा कम मूल्यमा उपलब्ध हुने र यसतर्फ उपभोक्ताहरूको आकर्षण बढ्नुका साथै लाभान्वित पनि हुने व्यवसायीहरू बताउँछन् । इन्धनमा परनिर्भर हाम्रो देशले इन्धनका वैकल्पिक साधनहरूमा जोड दिदै आयात करमा सुविधा दिएमा यस्ता साधनहरूको प्रयोगमा धेरै उपभोक्ता प्रेरित हुने पनि व्यवसायीहरूको भनाइ छ ।

प्रतिक्रिया