किसानहरुको आन्दोलनको स्वरुप परिवर्तन

काठमाडौं, ८ मंसिर । उद्योग बाणिज्य महासंघले ठूलो आर्थिक चलखेलमा सेण्डिकेट लगाएको भन्दै रिले अनसनसहितको आन्दोलन गरिरहेका सुपाडी उत्पादक किसानहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् ।

राष्ट्रिय सुपाडी खेति प्रर्वद्धन एवम् कृषि विकास संघ, झापा, मेची सुपाडी तथा फलफूल विकास सस्था झापा र फेयर नेपाल मोरङले आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघ र सम्बन्धित मन्त्रालयले समस्या समाधानको लागि छलफल गर्ने प्रतिबद्धतापछि भनि घोषणा गरिएको आमरण अनसनको कार्यक्रममा परिवर्तन गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा  राष्ट्रिय सुपाडी खेति प्रर्वद्धन एवम् कृषि विकास संघ, झापाका अध्यक्ष विष्णु शिवाकोटीले आमरण अनसनको स्थानमा अहिलेलाई महासंघ अगाडि सुरु भएको रिले अनसनलाई केही दिन जारी राख्ने स्पष्ट पारे । उनले आफूहरुको मागमा सुनवाई नभए आन्तरिक छलफलपछि आमरण अनसन फेरि सुरु गर्ने भन्दै अहिले मधेस आन्दोलनको कारण किसानहरु ईटहरीमै अडकिएकोले उनीहरु आएपछि फेरि सुरु गर्ने बताए ।

उनले सुपाडी किसानहरुले  गतवर्ष नै महासंघले सिण्डिकेट तोडेर निकासीमा सहज बनाउने लिखित प्रतिबद्धता ब्यक्त गरे पनि यस पटक पनि अन्य चार सस्था निकासीको लागि तयार रहँदा रहँदै फेरि पुरानै प्रबृत्ति दोहोर्याएर नेपाल सुपाडी विकास सस्थालाई मात्र दिदा बाँकी किसानहरुको ९ हजार ७ सय ७२ मेट्रिक टन सुपाडी कुहिने अवस्थामा पुगेकोले आन्दोलनमा उत्रन बाध्ये भएको स्पष्ट पारेका छन ।

पत्रकार सम्मेलनमा  अख्तियार र सर्वोच्च अदालतको आदेश विपरित महासंघका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरु भवानी राणा, दिनेश श्रेष्ठ र पूर्व अध्यक्ष चण्डीराज ढकालसहितकाले ठूलो आर्थिक प्रलोभनमा कार्यसमितिको बैठक नै नबोलाई एउटा सस्थालाई मात्र निकासीको अनुमतिपत्र दिएको आरोप लगाएको थियो ।

पत्रकार सम्मेलनमा मेची सुपाडी तथा फलफूल विकास सस्था झापाका अध्यक्ष खड्गप्रसाद दाहालले किसानको उत्पादन कुहिने बातावरण बनाएर त्यसको ठाँउमा सुपाडी तस्करी गर्ने योजना स्वरुप यस्तो काम भएको भन्दै महासंघले बास्तविक किसान र उत्पादक भन्दा पनि तस्करको सस्थाको रुपमा काम गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया