काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार दिनेश डिसी अमेरिकामा सडक दुर्घटनामा परी घाइते भएका छन् । उनीसँगै सवार उनकी पत्नी पनि दुर्घटनामा परी घाइते भएकी छन् ।
निर्देशक डिसी चढेको गाडीलाई विपरित दिशाबाट आइरहेको गाडीले लेन परिवर्तन गर्ने क्रममा ठक्कर दिएपछि असन्तुलित भई गाडी बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । २६ असोजमा अमेरिका उडेका डिसी शनिबार बिहान एटलान्टा उड्नका लागि अस्टिन विमानस्थलमा जाने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटना स्थानीय समयअनुसार शनिबार बिहान साँढे चार बजे टेक्सासको अस्टिनमा भएको हो ।
निर्देशक समाजका अध्यक्षसमेत रहेका डिसीको छात्तीमा चोट लागे पनि सामान्य अवस्थामा रहेको उनी आँफैले बताएका छन् । भने उनका पत्नी रानूको अनुहारमा १२ टाँका लगाउनुका साथै हातको एक औँला भाँचिएको छ । दुर्घटनापछि उनीहरूलाई ब्राकेनरिज अस्पतालमा पु¥याइएको थियो । सात घन्टा लामो उपचारपछि दुवैको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको बताइएको छ । डिसीलाई ठीक हुन एक हप्ता लाग्नेछ । तर, उनकी श्रीमतीलाई पूणरूपमा ठीक हुन करिव ६ हप्ता लाग्ने चिकित्सकले बताएको जानकारीमा आएको छ ।
दुर्घटनामा परेका डिसीले डिसेम्वर १५ मा नेपाल फर्कने पनि बताएको छ । उनी अमेरिकामा चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ को प्रचारमा पनि लागिरहेका थिए । यो चलचित्र फागुन २१ गतेबाट नेपालमा प्रदर्शनमा आउँदैछ । (सौस)
प्रतिक्रिया