उदयपुर, २२ कात्तिक । बन्द हड्तालको कारण देखाउँदै व्यापारीहरुले मनोपोली मूल्यवृद्वी गर्दा सर्वसाधरणलाई सास्ती भएको छ । स्थानीय प्रशासन तथा उद्योग बाणिज्य संघले बजार अनुगमन नगर्दा चाडबाडको अवसर पारेर ढाडसेक्ने गरी उपोभोग्य सामग्रीको भाउ बढाएका छन् । उनीहरुले बन्दहड्तालको कारण देखाउँदै इन्धन अभाव भएर ढुवानीको मूल्य बढेको भन्दै मनोमानी रुपमा व्यापार गरेका हुन् ।
जिल्ला सदरमुकाम गाईघाटका साथै स्थानीय बजार कटारी, नेपालटार, मुर्कुची, साउने, जललजे, देउरी, खाँवु लगायतका क्षेत्रहरुमा दैनिक उपभोग्य सामानको मूल्य बढाएको पाइएको छ । मूल्य बृद्धि भएपनि जिल्लाको प्रमुख व्यापारिक केन्द्र गाईघाट, कटारी, वेल्टार जस्ता बजारहरुमा उपभोग्य सामाग्री किन्नेको भीड बढेको छ । नजिकिंदै आएको चाड तिहारमा सामाग्री किन्न आएकी त्रियुगा नगरपालिका वडा नं. ७ मोतिगडाकी बालाकुमारी कार्कीले पहिलाको तुलनामा उपभोग्य बस्तुको मूल्यमा ५० देखि ६५ प्रतिशत सम्म बढेको गुनासो गरिन । अरु वेला भन्दा चाडपर्वमा उपभोग्य सामाग्री घेरै किन्नुपर्ने भएकाले व्यापारीहरुले पहिलेको तुलनामा मूल्य बढाएको हुनसक्ने उनको भनाइ छ ।
तीन महिना देखि भइरहेको तराई बन्दले सहज रुपमा यातायात सेवा सञ्चालन हुन नसक्दा ढुवानी महंगो भएको स्थानीय व्यापारी विदुर बुढाथोकीले बताए । उनले बजारमा प्रतिलिटर १३० रुपियाँमा पाईने सूर्यमुखि तेल २६० रुपियाँ प्रतिलिटर पुगेको बताए । त्यस्तै ६० रुपियाँ प्रतिकिलो पाइने चिनी ८० रुपियाँ पुगेको छ । दैनिक उपभोग्य बस्तु नुन, तेल, चामल र तरकारीको समेत मूल्य आकाशिएको छ । गाईघाट बजारको टेम्पो चोकमा विगत २० बर्षदेखि किराना पसल गर्दै आएका थीरप्रसाद ढकालले सामानको मूल्य पछिल्लो समयमा डिलरहरु मै बढेका कारण सामान महंगो हुन गएको बताउँछन् । सामान ढुवानीमा २० प्रतिशत सम्म बढेकाले पनि पहिलेको तुलनामा महंगो परेको उनको भनाई छ ।
यता त्रियुगा उद्योग बाणिज्य संध गाईघाटका अध्यक्ष गजेन्द्रकुमार भगतले भने नाकाबन्दीका कारण दुवानीमा केही रकम बढेपनि व्यापारीले ५० प्रतिशत मूल्य बढाएर सामान नवेचेको दावी गरेका छन् ।
प्रतिक्रिया