काठमाडौं, २१ कात्तिक । करिव ५ वर्षको मुम्वई बसाईपछि नेपाल फर्किएर आफैँ निर्माता, निर्देशक तथा नायक रहेको फिल्म ‘भैरव’ले नायक तथा निर्माता निखिल उप्रेतीलाई पुनः आफ्नो पुरानो स्टारडममा फर्काएपछि उनी फेरि नेपाली फिल्ममा छाएका छन् ।
करिव ५ वर्ष नेपाली फिल्मी क्षेत्रबाट टाढा रहेका नायक निखिलले नेपाल फर्कनेवित्तिकै फिल्म ‘भैरव’को निर्माण तथा निर्देशन गरे । फिल्म भैरव एकाएक हिट भएपछि उनको नेपाली फिल्म क्षेत्रमा माग बढ्दै गएको छ । यसैबीच नायक तथा निर्माता निखिल उप्रेती फिल्म ‘इन्काउन्टर अफिसर’मा पुनः एक्सन भूमिकामा देखिने भएका छन् ।
शनिबार कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा चलचित्र ‘इन्काउन्टर अफिसर’को शुभमुर्हत गरी छाँयाकन सुरु गरिएको छ । फिल्म ‘इन्काउन्टर अफिसर’को प्रहरी निरीक्षक धर्मराज भण्डारीले क्ल्याप ठोकेर मुहर्त गरे । मुहर्तमा मुख्य नायक निखिल उप्रेती भने उपस्थित भएका थिएनन् । अन्य कलाकारले मुहर्तको शट दिए ।
यद्दपी निर्माण पक्षले निखिलको भने खुलेरै प्रशंसा गरे । यसअघि फिलम ‘कुर्बान’ र ‘संजोग’ निर्देशन गरिसकेका निर्देशक बेद प्रसाद भुर्तेलको निर्देशनमा निर्माण गरिने चलचित्रलाई हर्क देउवाले लगानी गरेका छन् । कुशल ब्यापारी र युबा नेताको छबि बनाएका देउवाले फिल्म देशको बर्तमान अबस्थामा केन्द्रित रहने बताउदै चलचित्र उद्योगलाई सरकारले समेत वेवास्था गरेको सन्र्दभमा कर्पोरेट र पोलिटसियनको समेत सहभागिता आवश्यक रहेकाले नै फिल्म निर्माणमा प्रवेश गरेको बताए ।
यस्तै निर्देशक भुर्तेलले फिल्मले अहिलेको देशको विषम र जटिल परिस्थितिलाई समेत मुख्य मुद्दाका रूपमा उठान गरिएको बताए । ‘यसअघि मैले दुई फिल्म पुर्णरूपमा व्यवसायिक धारका बनाए । निर्देशक भुर्तेलले भने, ‘तर, यो सिनेमाले राष्ट्रियतालाई पनि अगाडी बढाउनेछ ।’ देशमा भएका दलाली र डनहरूको ‘इन्काउन्टर’मा पनि चलचित्र केन्द्रित हुने निर्देशक ले थपे ।
फिल्ममा नायक निखिल उप्रेतीसहित दिलकृष्ण श्रेष्ठ, प्रज्वल गिरी, प्रतिक श्रेष्ठ, डिबी लामा लगायतका कलाकारको अभिनय रहनेछ । केही कलाकारको छनोट हुन बाँकी रहेको निर्माण पक्षले जानकारी गरायो । फिल्मलाई शिबम् अधिकारीले लेखेका हुन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ । अर्जुन पोखरेल र केशर कुमार कालिकोटेको संगीत तथा दिनेश पाख्रिनले नृत्य निर्देशन गर्नेछन् । चलचित्रलाई सौरभ लामाले खिच्नेछन् भने नबराज शर्मा फिल्मका सहायक निर्देशक हुन् । प्रतिक श्रेष्ठ सह–निर्माता रहने फिल्मलाई सेवान्तिका फिल्मस् र एभरेष्ट फिल्मसको संयुक्त ब्यानरमा निर्माण गर्ने लागिएको हो । फिल्मको करिब दुई महिनाभित्रमा छाँयाकन सकाउन निर्माता देउवाले जानकारी गराए ।
प्रतिक्रिया