नाकाबन्दी अन्तर्राष्ट्रियकरण गर्ने तयारीमा छौँ : मन्त्री पाण्डे

रुपन्देही, २१ कात्तिक । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुक इतिहासकै सबैभन्दा अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताएका छन् । भारतले डेढमहिना यता लगाएको अघोषित नाकाबन्दी र लामो समयको तराईमा जारी अन्दोलनले मुलुक संकटमा पर्न लागेको उनको भनाइ  छ ।

शनिवार खवरवाणी डटकमको  बुटवलमा उद्घाटन गर्दै मन्त्री पाण्डेले भने, ‘मुलुकमा जारी संकटको समाधान गर्न सरकारले न्यूनीकरण र विकल्पबारे प्रयास थालेको छ ।’ उनले नाकाबन्दीको विषयलाई सरकारले अन्तराष्ट्रियकरण गर्ने तयारीमा रहेको समेत बताएका छन् । दुई मुलुकबीच युद्धको अवस्थामा समेत नाकाबन्दी गर्न नमिल्ने भन्दै मन्त्री पाण्डेले भने, ‘दुई मुलुकबीच युद्वकै अवस्थामा त नाकाबन्दी गर्न पाइन्न तर भारतले विगत डेढ महिनादेखि लगाएको अघोषित नाकाबन्दी गरिरहेको छ यसलाई अन्तराष्ट्रियकरण गर्ने सरकारको तयारी छ ।’ तर, सरकारले अहिलेसम्म औपचारिक रुपमा भारतले नेपाल प्रवेश गर्ने इन्धनसहितका गाडी नेपाल प्रवेश गर्न लगाएको रोकलाई  नाकाबन्दी भन्न सकेको छैन ।

पाण्डेले सरकार मुलुकको संकटप्रति गम्भीर रहेकोले यसको निकास छिट्टै निस्कने बताए । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री पाण्डेले रुपन्देहीले औद्योगिक जिल्लाको रुपमा विकास गर्ने बताए । उनले भने, ‘रुपन्देही जिल्लालाई मुलुककै औद्योगिक जिल्ला बनाउने योजना छ ।’ उनले नाकाबन्दीले सबैभन्दा ठूलो असर उद्योग÷कलकारखानामा परेकोले त्यसको समाधानको खोजीमा सरकार रहेको बताए ।

उद्घाटन कार्यक्रममा उनले मिडियाले विश्वलाई नै साँघुरो घेरामा बाँधेको भन्दै पहिलो समाचार पढन समय छुटयाएर बस्नुपर्ने अवस्था रहेको बताएका थिए । अनलाइन मिडियाको विकासले तत्काल ताजा घटना सुन्न पाउने अवस्थाले विश्वलाई नै नजिक बनाइदिएको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, उद्योगी रचना पन्त भट्टराई लगायले बोल्दै अनलाइन मिडिया विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । खवरवाणी मिडिया प्रालिका अध्यक्ष देवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नरेस केसीले गरेका थिए ।

प्रतिक्रिया