इलाम, १९ कात्तिक । इलामको बाँझोस्थित किरात साम्जीक मुन्धुम प्राथमिक विद्यालयको भवन नहुँदा त्यहाँका विद्यार्थी खुल्ला आकाशमुनी पढ्न बाध्य भएका छन् । किरात धार्मिक कर्म काण्डका विषय पढाउन स्थापित साम्जीक मुन्धुम निसाम हिमका लागि शिक्षा कार्यालयले भवन उपलब्ध नगराएकाले उनीहरू खुल्ला आकाशमुनी पढ्न बाध्य भएका हुन् ।
देशको एक मात्र बहुभाषिक शिक्षा प्रणाली अन्तर्गत पठनपाठन हुदैं आएको सो विद्यालयमा हालसम्म जिल्ला शिक्षा कार्यालयले कुनै भवन उपलब्ध गराएको छैन । स्थानीयले बाँसको भाटाले बनाएको सामान्य भवन मात्र छ । विद्यार्थीहरू खुला आकाशमुनी बसेर पढ्न बाध्य छन् । ‘गत चैतसम्म साम्जीक मुन्धुम निसाम हिमको भवनमा कक्षा सञ्चालन गरिरहेका थियौं’ प्रधानाध्यपक कल्पना लिम्बूले भनिन्, ‘त्यसपछि निसाम हिमबाट भवन खाली गर्न पत्र आयो । बैसाखदेखि हामी भवनविहीन छौं ।’
सो विद्यालयमा शिक्षा नियमावली २०६९ को नियम १९२‘ङ’ अनुसार नेपाली, अंग्रजी, गणीत, किरात साप्पान (किरात साहित्य), किरात साम्जीक मुन्धुम (किरात वेदशास्त्र), सङ्जुम्गेन निसाम(सामाजिक शिक्षा), साक्चा नु याम्जीक (विज्ञान) पढाई हुने गर्दछ । नियमावली अनुसार बहुभाषी शिक्षा भन्नाले स्थानीय मातृभाषा समेत एक वा एक भन्दा बढी भाषाका माध्यमबाट दिइने शिक्षालाई जनाउँदछ ।
आफ्नो भवनमा मुन्धुम प्राथमिक विद्यालय समेत सञ्चालन गर्दा उद्देश्य अनुसार किरात धार्मिक कर्मकाण्ड तथा किरात ज्योतिष पढाउन समस्या भएपछि विशुद्ध बनाउन बहुभाषिक शिक्षा प्रणालीको विद्यालयलाई अर्कै ठाउँमा सार्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन इङ्नामले बताए । यसअघि मुन्धुम निसामहिमको भवनमा विहान वेदशाला र दिउँसो विद्यालयको कक्षा सञ्चालन हुँदै आएको थियो । निसाम हिमको भवन भने समितिले २०३९ सालमा आफ्नै लगानीमा निर्माण गरेको थियो ।
मुन्धुम प्राथमिक विद्यालयलाई अर्कै ठाउँमा सारिएपछि यहाँ विशुद्ध किरात मुन्धुम मात्र पढाई हुने भएको छ । र यसलाई किरात साम्जीक मुन्धुम निसाम हिम (किरात वेदशाला) भनिने छ । वेदशाला भने परम्परागत गुरुकुल शिक्षा प्रणाली अन्तर्गत सञ्चालन गरिने छ । मुन्धुम प्रथामिक विद्यालयमा एक सय पाँच विद्यार्थी छन् । कक्षा १ मा २९, २ मा २४, ३ मा १९, ४ मा १६ र कक्षा ५ मा १७ जना विद्यार्थी अध्ययन गर्छन् । विद्यालयमा चार शिक्षक शिक्षिका मध्ये एक राहत अनुदान, एक सहयोगी कर्मचारी र दुई नीजि छन् ।
विद्यार्थीलाई कुनै शुल्क तोकिएको छैन । प्रअले आफ्नै र अभिभावकबाट प्राप्त सहयोगले शिक्षकलाई तलब खुवाईरहेका प्रधानध्यापक लिम्बूले भनिन् ‘विद्यार्थीलाई पढाउने कक्षाकोठा छैन । विद्यालय बनाउने जग्गा छैन । भक्तजनले बनाएको डेरा बारेर कक्षा कोठा बनाएका छौं ।’ एक अर्को कक्षाको हो–हल्लाले विद्यार्थीलाई पढाईमा ध्यान केन्द्रित गराउन समस्या भएको उनको अनुभव छ । उनले खेलमैदान सहितको विद्यालय भवन निर्माणको लागि जग्गा खरिद गर्ने क्रममा रहेको र त्यसकालागि अविभावकको तर्फबाट १० हजार भन्दा माथिका दरले सहयोग संकलन भईरहेको जानकारी दिईन् । विद्यालयमा तुलनात्मक रूपमा विद्यार्थी धरै भएको तथा एकै ठाउँमा धेरै खालको ज्ञान हासिल गर्ने बहुभाषिक शिक्षा प्रणाली अन्र्तगत पठनपाठन हुने भएकाले आकर्षण बढेको स्थानीय सरस्वति उच्च माविका शिक्षक होम लिङ्देन बताए । उनका अनुसार यो शिक्षा प्रणाली विद्यालयमा लागु गराउँदा विद्यार्थीलाई कुनै पनि विषय बुझाउन सजिलो हुन्छ । मातृभाषा भएको विद्यार्थीलाई नेपाली भाषामा भन्दा घरमै जानेको भाषामा बुझाउँदा विद्यार्थीले छिटो टिप्छन् ।
लिम्बू, राई, मगर र दलित विद्यार्थी पढ्ने विद्यालयमा समान रूपमा शिक्षालाई विकास गराउन बहुभाषीक शिक्षा प्रणालीले सहयोग गरेको अविभावको बुझाई छ । विद्यार्थीलाई विद्यालय समयमा आफ्नो मातृ भाषामा बोल्न छुट भएपछि विचार, चाहना, समस्या सजिलै भन्ने र सुनाउने गरेको शिक्षक मनकुमार लिम्बूले बताए । विद्यालयमा छात्रका लागि किराती पोशाक तागा र छात्राका लागि मेख्ली अनिवार्य गरिएको छ । विद्यालय पोशाक ३ दिन सेतो र ३ दिन निलो रङ्को लगाउनु पर्नेछ । विद्यालयमा शनिबार दिउँसो १ बजेसम्म र आइतबार सार्वजनिक विदा गरिएको छ । विद्यालयको यस्तो अवस्थाको बारेमा जानकारी गराउँदै व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यपकले विद्यालय भवन बनाउन सहयोग गर्न अविभावकलाई आग्रह गर्दै आएका छन् ।
प्रतिक्रिया