मेडिकल कलेजले विद्यार्थी पाएनन्

काठमाडौं, १९ कात्तिक । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले मेरिट लिस्टका आधारमा लिएको कलेज छनौट कार्यक्रममा न्युन विद्यार्थीहरुले मात्रै डाक्टर बन्ने रुचि देखाएका छन् । १६ र १७ गते आइओएमले गरेको पहिलो चरणको कलेज छनोट कार्यक्रममा सहभागी १ हजार विद्यार्थी मध्ये २ सय जनाले मात्र कलेज छनोट गरेका हुन् ।

आइओएमले मेरिटका आधारमा विद्यार्थीलाई कलेज छनोट गर्ने अवसर दिएको थियो । आइओएम र आर्मी मेडिकल कलेजमा मात्र कोटा अनुसार विद्यार्थी संख्या पुगेका छन् । उता गण्डकी मेडिकल कलेजले ९० जनाको कोटा पाए पनि हालसम्म ३ जना मात्र विद्यार्थीले सो कलेज छनोट गरेका छन् । यसैगरी नेशनल मेडिकल कलेज एकजना विद्यार्थीको रोजाइमा परेको छ । नेशनलले १ सय ३० जना पढाउने कोटा पाएको थियो । युनिभर्सल मेडिकल कलेजले ९० कोटा पाए पनि ६ विद्यार्थीले मात्र सो कलेज छानेका छन् । निजी क्षेत्रका किष्ट र चितवन मेडिकल कलेज भने अन्य कलेजको तुलनामा धेरै विद्यार्थीको रोजाईमा परेका छन् ।

किष्टले १ सय १२ कोटा पाएकोमा हालसम्म ४२ जना र चितवन मेडिकल कलेजले १ सय २५ कोटा पाएकोमा ४१ विद्यार्थी पाएका छन् । विद्यार्थीले गुणस्तरका आधारमा कलेज छनौट गरेको आएओएमका प्राध्यापकहरुको भनाइरहेको छ ।

त्यस्तै चिकित्सा शास्त्र अध्ययन संस्थानले आफू अन्तर्गतका मेडिकल कलेजको एमबिबिएस र बिडिएसका लागि भर्ना शुल्क र किस्ता रकम तोकेको छ । प्राप्त सूचना अनुसार काठमाडौं उपत्यका भित्रका कलेजहरुमा ३५ लाख रुपैंयाँ र उपत्यका बाहिरका कलेजमा ३८ लाख ५० हजार रुपंैयाँ शुल्क तोकिएको हो । बिडिएसमा भने उपत्यका भित्र र बाहिर नै १७ लाख ५६ हजार ९ सय रुपैयाँ शुल्क तोकिएको छ ।

शुल्क बुझाउने प्रक्रियामा भर्ना हुँदा ५० प्रतिशत, दोस्रो किस्ता तेस्रो वर्षमा ३० प्रतिशत र बाँकी २० प्रतिशत चौथो वर्षमा बुझाउनुपर्ने उल्लेख छ । पहिलो चरणमा मेरिटमा परेका विद्यार्थी डाक्टरी पढ्न योग्य भएपनि शुल्क महंगो भएका कारण डाक्टर बन्ने इच्छा पुरा गर्न नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ७ वटा मेडिकल कलेज सञ्चालनमा छन् । जसमा ५ कलेज निजी क्षेत्रबाट सञ्चालित हुन् । मेरिटका आधारमा भर्ना गरे काठमाडौं विश्वविद्यालयका कलेज झन् ठूलो संकटमा पर्ने देखिएको छ ।

प्रतिक्रिया