अस्पतालको सेवा प्रभावित

भक्तपुर, १९ कात्तिक । इन्धन अभावका कारण भक्तपुरका भक्तपुर जिल्ला अस्पताल, मिर्गौला प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताललगायतका सेवा प्रभावित भएको छ । लामो समयदेखि इन्धन आपुर्ति कम भएपछि अस्पतालको सेवा प्रभावित बनेको हो ।

इन्धन अभावले अस्पतालको सेवा सञ्चालनमा नराम्रोसँग प्रभावित भएको मिर्गौला प्रत्यारोपण केन्द्रका कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट डा. कल्पना श्रेष्ठले जानकारी दिएकी छन् । उनले इन्धन अभावकै कारण चिकित्सक समयमा आउन नसक्ने, औषधिजन्य सामग्री आयात हुन नसकेको र बिरामीसमेत समयमा आउन नसकेपछि केन्द्रले सेवाको समयसमेत कटौती गरेको जानकारी दिएकी छन् ।

श्रेष्ठका अनुसार केन्द्रले दिँदै आएको डाइलाइसिस सेवा अन्र्तगत एक बिरामीलाई सातामा तीनपटक चार घन्टाका दरले दिनु पर्ने सेवा कटौती गरेर तीन घन्टा मात्रै दिने गरिएको छ । पहिले दैनिक चारपटक समेत केन्द्रको यातायात सञ्चालन हुने गरेकोमा अहिले राति मात्रै सो सेवा दिइएको छ । उनले केन्द्रका डाक्टरले समेत बाध्य भएर छुट्टी लिएर पालो गरेर बस्नुपर्ने समस्या रहेको बताएकी छन् । बिरामीलाई प्रयोग गर्ने औषधिजन्य प्राविधिक सामान मौज्दात सकिएपछि प्रयोग भइसकेका सामानलाई निर्मलीकरण गरेर पुनः प्रयोगमा ल्याउनुपर्ने अवस्था रहेको छ ।

भक्तपुर अस्पतालका प्रशासन प्रमुख विश्वराम न्यौपानेले इन्धन अभाव भएपछि नियमित काम समयतालिका मिलाएर सञ्चालन भएपनि इन्धन अभावको समस्या समाधान नभए अस्पतालसम्म डाक्टर आउन नसक्ने अवस्था आउने भएको बताए । इन्धन अभावमा जेनेरेटर सञ्चालनमा समेत समस्या आएको छ । उता इन्धन अभावकै कारणले रगतको समेत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले ताजा रगत दिनेको अभाव भएपछि रगत सङ्कलनमा समस्या आएको बताए । थापाका अनुसार इन्धन अभाव हुँदा नियमित रूपमा ताजा रगत दिने दाताहरू आउन सकेका छैनन् । यसले गर्दा बिरामीलाई माग अनुसारको रगत दिन सकिएको छैन, रगतको कम्पोनेन्ट बनाउनसमेत समस्या भएको छ ।

रगत सङ्कलनका लागि रेडक्रसका स्वयंसेवकलाई फिल्डमा खटाउन गएको भएपनि इन्धन अभावका कारण फिल्डमा स्वयंसेवक परिचालनसमेत गर्न नसकेको बताए । दैनिक रूपमा रगतको कम्पोनेन्ट आवश्यक हुने गरे पनि जटिल शल्यक्रिया गरेर रगत लिन आउनेलाई समेत रगत दिन समस्या परेको उनले बताए ।

प्रतिक्रिया