कार्तिक १८ मोरङ । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सुजता कोइरालाले मधेसबादी दलका सिमित नेताको स्वार्थका कारण मधेसमा आन्दोलन भैरहेको दाबि गरेकी छन् । सुनसरीको इनरुवामा बुधबार अगुवा कार्यकर्ता भेटघाटका कार्यक्रमलाई संबोधन गर्दै उनले मधेसबादी दलका शिर्ष नेताहरूको निहित स्वार्थका कारण मधेसमा आन्दोलन भैरहेको आरोप लगाइन् ।
उनले मधेसी जनजाति, अल्पसंख्यक, दलित, महिला लगायतको जायज माग पुरा भैसकेको वताउँदै नेपाली कांग्रेस सिमान्तकृत नागरिकको अधिकारकालागि सधं लडिरहने भएपनि अहिलेको आन्दोलन मधेसबादी दलका सिमित नेताहरूको स्वार्थको कारण भैरहेको उनले आरोप लगाइन् ।
कार्यकर्ताहरूको सुझाव तथा प्रतिकृया सुनेपछि बोलेकी उनले नेपाली कांग्रेसले पछिल्लो समयमा केही गल्ती गरेको स्विकार गर्दै त्यसलाई नकारात्मक हिसाबले मधेसबादी दलहरूले प्रचार गरेको आरोप लगाएकी छन् । डेमोक्रेसिमा जनताका आकांक्षा सत्तामा बसेर मात्र पुरा गर्न सकिने बताउँदै नेतृ कोइरालाले पार्टी भित्रका केही नेताहरूको निहित स्वार्थका कारण पार्टीमा केही समस्या आएको बताइन् ।
अहिलेको अवस्थामा मधेसको समस्यामा मात्र केन्द्रित हुनुभन्दा हिमाल पहाड तलाईको सर्वाङ्गीण विकासको लागि सबैले सोच्नु आवश्यक भएको भन्दै उनले सुनसरीका अगुवा कार्यकर्ताहरूले पार्टीलाई जीवन्त राख्न सबै शिर्ष नेताहरूलाई सचेत गराउनुपर्ने विचार राखेका थिए ।
कार्यक्रममा महासमिति सदस्य गोमा पराजुलीले मधेसीहरूको टाउकोमा टेकेर आन्दोलनरत दलका शिर्ष नेताहरूले गलत प्रचार गरेकोमा सबै सचेत हुनुपर्ने बताएकी छन् । कार्यक्रममा सहभागी कार्यकर्ताहरूले नेतृ कोइरालालाई केन्द्रीय कार्यसमितिको नीति तथा कार्यक्रम अनुसार संविधानका उपलब्धिहरूको चर्चा, गाउँ गाउँमा गर्न आवश्यक रहेकाले सोही अनुसारको कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।
प्रतिक्रिया