कञ्चनपुर, १८ कात्तिक । आठ वर्षअघि नदीले विस्थापित गरेका शङ्करपुरका डेढ सय बढी परिवार हाल सम्म जंगलै बस्दै आएका छन् । कञ्चनपुरको दोदा नदिले उनिहरूलाई विस्थापित बनाएको हो ।
०६५ सालदेखि नियमित वर्षायाममा आउने दोदा नदीको बाढीले हालसम्म शङ्कपुरका १६३ परिवार पूर्ण रूपमा विस्थापित बनाएको हो । उनीहरू अहिले पनि जंगलमै बसिरहेका छन् । स्थानीयवासीका अनुसार दोदाले ०६५ सालमा शङ्करपुर गाविसको वडा नम्बर ७ नै बगाएको थियो । विस्थापितका हालसम्म पनि पुनःस्थापना नहुँदा जंगलमै बस्न बाध्य भएको उनीहरूको गुनासो रहेको छ । उनीहरूले सरकारी पक्षबाट कुनै पहल नहुँदा मानिस भएर पनि जंगली जनावरको जस्तो जङ्गलमै बस्न बाध्य भएको उनीहरूको दुःखेसो छ ।
शङ्करपुर–८ डुङ्गाका बिश्राम रानाले राज्यको ध्यान दोदामा पुग्न नसकेको गुनासो गरेका छन् । उनले भने, ‘राज्यको ध्यान दोदोमा पुगेन जसको परिमाण नदीले ७ नम्बर वडालाई लग्यो ।’ आर्थिकरूपमा सम्पन्न भएकाहरू बसाई सरेर सहरतिर गएको र विपन्न विस्थापितहरू भने नजिकैको शोभातालको डाँडामा बसिरहेका छन् ।
बाढीले २५० बिघा जमीन कटानी गरेर नदीले धार परिवर्तन गर्दा काम नलाग्ने भएको छ । नदीले बायाँबाट दायाँतिर धार परिवर्तन गर्दै जाँदा उक्त जमीनमा खेती गर्न नमिल्ने भएको शङ्करपुर–८ का वालकृष्ण डगौराले बताए ।
यसवर्ष पनि दोदामा आएको बाढीले शङ्करपुर–७ र ८ को दुई बिघा १० कट्टा जमीन बगाएको छ । शङ्करपुर–८ का झक्कुप्रसाद चौधरीले गत साउन ३ गते आएको बाढीले दुई बिघा १० कट्टा जमीन बगाएको बताए । उनका अनुसार दोदाबाट शङ्करपुर–८ र ९ वटा उच्च जोखिममा छन् । जनताको तटबन्ध कार्यालयले दोदा नदीमा दुई हजार ६५५ मिटर तटबन्ध बनाएको छ । करिब १४ करोडको लागतमा तटबन्ध बनाएपनि कटानी रोकिएको छैन् । कतिपय तटबन्ध भत्किसकेका छन् । ‘तटबन्धले काम राम्रो गरेन,’ उनले भने ‘१४ करोड रूपैंयाँको तटबन्ध बनायौँ भन्छन्, तर, हाम्रो गाउँ बगेकोबग्यै छ, तटबन्ध पनि बगेको बग्यै, पैसा पनि बगेको बग्यै छ ।’
जनताको तटबन्ध कार्यालयका प्रमुख अनुपकेशर थापाले बजेट अभावका कारण प्रभावकारीरूपमा दोदा नियन्त्रण हुन नसकेको बताए । ‘काम गर्न बजेट छैन, सानो कामले नदी नियन्त्रण हँुदैन,’ उनले भने । थापाका अनुसार जनताको तटबन्ध कार्यालयले यस वर्ष दोदामा साढे चार लाखको लागतमा २५० मिटर मात्रै तटबन्ध बनाएको छ ।
‘बाढीबाट विस्थापित ३०÷३५ जनाले क्षतिपूर्तिको माग गरेर तटबन्ध बनाउन दिएनन्,’ उनले भने, ‘पैसा पनि ढिलो आएकाले काम हुन नपाएरै फिर्ता गयो ।’ दोदाले कञ्चनपुरका आठ गाविस कृष्णपुर, देखतभुली, शङ्करपुर, श्रीपुर, बाइसेविचवा, कालिका, त्रिभुवनवस्ती तथा परासनमा क्षति पु¥याएको छ । दोदा नदीमा बनारा, स्याली, सुनवरा नदी मिसिएका छन् ।
प्रतिक्रिया