जमिन भारतमा, लालपुर्जा नेपालमा

कञ्चनपुर, १५ कात्तिक । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी नगरपालिका– १ फटियाका करनबहादुर सुनार एक बिगाहा जमिनका मालिक हुन् । तर, उनीसँग एक बिगाहा जमिनको लालपुर्जा मात्रै छ, जोत्नका लागि जमिन छैन ।
सुनारले १३ वर्षदेखि आफ्नो जमिन उपभोग गर्न पाएका छैनन् । किनकि, उनको जमिन नेपाल–भारत सीमाको पिलर नं २०० नजिकै छ । सो जमिन भारतीय पक्षले आफ्नो देशभित्र पर्छ भन्दै उपभोग गर्न रोकेपछि उनी भूमिहीन बनेका हुन् ।

०२८ देखि बसोबास गर्दै आएको सुनारको जमिनको ०३५ सालमा कित्ताकाट गरी नेपाल सरकारले ०३६ सालतिर जग्गा धनी लालपुर्जा दिएको सुनारले बताए ।
सुनारको जमिन ०५८ सालदेखि भारतीय पक्षले कब्जा गरेपछि उनले जमिन उपभोग गर्न पाएका छैनन् । ‘मेरो जमिन हाम्रो देश भारतको हो, भन्दै बेलाबेलामा भारतीय वन विभागका कर्मचारीहरूले धम्काउने, दुव्र्यबहार गर्ने गर्दछन्’ सुनारले भने ‘के गर्ने कागजमा मात्रै जमिन छ ।’

‘वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफूले उपभोग गर्न नपाएको १३ वर्ष भइसक्यो ।’ उनले भने – ‘फिर्ताका लागि कहीँ कतैबाट समेत पहल भएको छैन ।’ जमिन उपभोग गराइदिने पहल कसैले नगराएको उनको दुःखेसो छ ।

त्यस्तै बेलौरी नगरपालिका–१, फटैयाका अर्का स्थानीयवासी मानबहादुर सुनारको समस्या उस्तै छ । उनको पनि नेपाल–भारत पिलर नं २०० नजिकै रहेको डेढ बिगाहा जमिन भारतीय पक्षको धम्कीका कारण आधा बाँझो र आधा आवादी छ । ‘भारतीय वन विभागका तर्फबाट बेलाबेलामा आई धम्काउने जोतिरहेका बेला हल गोरु खोलेर लिएर जाने, ट्र्याक्टर नै लिएर जमिन उपभोग नगर्न भन्दै धम्की दिन्छन’ – उनले दुःखेसो पोखे ।

‘हातमा लालपुर्जा भएर के गर्ने जमिन उपभोग गर्न पाएको छैन ।’ उनले पनि १३ वर्षदेखि जमिन उपभोग गर्न नपाएको गुनासो गरे । उनीहरू दुवैजना अरूको अधियाँ गरेर दैनिक गुजारा चलाउँदै आएका छन् । सरकारले यो जग्गा हाम्रो होइन भन्न सकोस्, भारतमै पर्छ भनी किटानी गरोस् हैन भने हामीले लालपुर्जा भएको जग्गा जोतपोत गर्न पाउनुपर्ने उनीहरूको माग छ ।

दुवै नेपाली नागरिकको जमिनबारे स्थानीय प्रशासन अझैसम्म पनि मौन बसेको छ । ०६७ मा संसदीय समिति र तत्कालीन कञ्चनपुरका सिडिओ बुद्धिबहादुर खड्काको नेतृत्वमा आएको टोलीले पीडित नेपालीको लालपुर्जाको प्रतिलिपि पनि लिएर गएका थिए ।तर, अहिलेसम्म सम्बोधन हुन नसकेको इलाका प्रशासन पुनर्वासका प्रमुख मानप्रसाद भट्टले बताए । उनका अनुसार दुवैजनाको जिल्लादेखि केन्द्र तहसम्म कुरा पु¥याइसकेको भए पनि समस्या समाधान हुन सकेको छैन ।

नगर विकास समिति पुनर्वासका अध्यक्ष विष्णुप्रसाद बाँस्तोलाले भारतीय पक्षले नेपालीको जमिन उपभोग गर्न नदिएको प्रति निकै आवाज उठाएको बताए ।
दक्षिणी क्षेत्रका जनताले सीमा क्षेत्रको समस्या समाधान र सीमा मिच्नबाट रोक्नका लागि एक गाविस एक सशस्त्र सीमा सुरक्षा क्याम्प राख्नुपर्ने माग गरे पनि स्थानीयवासीको माग सरकारले नसुन्दा यस्तो समस्या देखापरेको स्थानीयवासीको गुनासो छ ।

यस बारेमा कञ्चनपुरका सिडिओ मनोहरप्रसाद खनालले दुवै नेपाली नागरिकको लालपुर्जा भए उपभोग गर्न पाउनुपर्ने बताए । यसबारेमा कञ्चनपुरका राजनीतिक दलहरूले समेत पहल गरिदिनुपर्ने पीडितहरूको माग छ ।

प्रतिक्रिया