ताप्लेजुङ १४ कात्तिक । एकीकृत माओवादीले विकास निर्माण र उत्पादनलाई प्रथमिकता दिने क्रियाकलापमा आफ्नो पार्टीलाई केन्द्रिकृत गर्ने जनाएको छ । शुक्रबार एमाओबादी ताप्लेजुङले आफ्नो कार्यालयमा गरेको पत्रकार सम्मेलनमा विगतमा गरेको आन्दोलनले देशमा संविधान आएको र अब विकास, निर्माण र उत्पादनलाई अघि बढाएर देशलाई संमृद्धि तर्फ उन्मुख गराउन पार्टीको योजना रहेको बताइएको हो ।
सम्मेलनलाई संवोधन गर्दै जिल्ला अध्यक्ष खेलप्रसाद बुढक्षेत्री ‘पराग’ले मेची राजमार्गको सुकेटारदेखि ओलाङचुङगोला उत्तर दक्षिण लोकमार्गलाई चिनसंगको सिमाना टिपताला भन्ज्याङसम्मको दुइदेश जोड्ने मार्ग निर्माणमा पहल गर्ने बताएका छन् । ओलाङचुङगोला मार्ग कुरामात्रैमा सिमित हुदै गएको र वर्सेनी बजेट घटेर आउने गरेको भन्दै परागले सुदुरपूर्वीहरुले यो आयोजनालाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बताए । ताप्लेजुङमा रहेको विद्यमान विधुत संकटलाई समाधान गर्न संचालित आयोजनाहरुको उपभोक्ता समिति तथा ठेकेदारसंग निरन्तर छलफल, अन्तक्रिया तथा अनुगनमन गर्नसमेत परागले सुझाएका छन् । उनले हरेक वर्ष ताप्लेजुङमा थोरै बजेट आउने तर त्यो पनि खर्च नभई फ्रिज भएर जानुले विकास निर्माणका गतिविधिलाई असर पुग्ने गरेकोले बजेट फ्रिज हुन नदिन पार्टीको तर्फबाट पहल गरिने जानकारी दिए ।
पत्रकार सम्मेलनमा सबैभन्दा धेरै अलैंची उत्पादन हुने जिल्लाको रुपमा ताप्लेजुङ रहे पनि अहिलेसम्म अलैंची विकास बोर्ड गठन नभएकाले तत्काल गठन गर्नसमेत सरकार समक्ष पलह गर्ने जनाएका छन् ।
त्यस्तै, छिमेकी जिल्ला इलाममा सहकारी फस्टाउदै जानुमा जिल्लामै डिभिजन सहकारी कार्यालय भएर हो भन्दै ताप्लेजुङमा पनि सहकारी डिभिजन कार्यालय स्थापना गर्न पहल गर्ने परागले बताएका छन् । जिल्लामा सहकारी कार्यालय नहुदा यहाँका नागरिकले इलामसम्म धाउनु परेकोमा यसलाई सबै लागेर पहल गर्नु पर्ने बताइएको छ । जिल्लाको पर्यटकीय विकासमा सहयोग पुग्ने सहिद पार्क स्थापना गर्नदेखि भारतले गरेको अहिलेको अघोषित नाकाबन्दीमा देखिएको परनिर्भरताको अबस्थालाई हटाई सबैले आत्मनिर्भर हुन तर्फ उन्मुख गराउन समेत पहल गर्ने एमाओवादी ताप्लेजुङले जनाएको छ ।
पत्रकार सम्मेलनमा एमाओबादी ताप्लेजुङको कात्तिक ११ र १२ गते सम्पन्न पार्टीको विस्तारित बैठकमा भएका अन्य निर्णयहरु पनि सार्वजनिक गरिएको थियो । यस अन्तर्गत एमाओबादी पार्टी पहिलो संविधानसभाको सबैभन्दा ठूलो पार्टी भएको र अझै पनि जनताहरु एमाओबादीको विपक्षमा नरहेको भन्दै अब वडा स्तरबाट नै पार्टीलाई संगठित गर्दै लैजाने बताइएको थियो । त्यसकोलागि हरेक वडा सम्मेलन आयोजक समिति गठन गर्ने कार्यक्रम रहेको र विभिन्न पदाधिकारीलाई जिम्मेवारी तोकिएको पनि जानकारी गराइएको छ ।
प्रतिक्रिया