काठमाडौं, २८ असोज । नेपाली चलचित्र ‘नाइ नभन्नु ल’ को चौथो सिक्वेलको छायांकन सकिएको छ । नयाँ चलचित्र ‘नाई नभन्नु ल ४’को युनिटले विभिन्न चर्चित कलाकारहरूलाई नचाउँदै छायांकन सकाएका छन् ।
चलचित्रका निर्देशक विकास आचार्यले करिब ३५ दिनमा सम्पूर्ण छायांकन सकिएको जानकारी बताएका छन् । चलचित्रको चितवन र काठमाडौंमा छायांकन भएको छ । यसपटक चलचित्रमा ५ वटा गीत समावेश गरिएको आचार्यले बताए ।
बुधबार काठमाडौंमा नेपाली चलचित्रका चर्चित कलाकारलाई राखेर एक लोकगीतको छायांकन गरिएको छ । वसन्त सापकोटाको संगीतमा रहेको ‘उत्तरमा छन् है बूढाहाङ्’ बोलको गीत खिच्दै छायांकन सकिएको घोषणा गरियो । यो गीतमा गायक राजेश पायल राई, कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी र संजोग कोइरालालाई पनि अतिथी भूमिकामा देखाइएको छ । हाल चलचित्रको सम्पादन भइरहेको विकासको भनाइ छ । यसपटक अघिल्ला ३ सिरिजभन्दा चलचित्रमा के फरक छ भन्ने प्रश्नमा विकासले भने, ‘प्राविधिक रूपमा त चलचित्र उत्कृष्ट बनेको छ । साथमा पारिवारिक विषयवस्तु र कमेडीलाई यसपटक महत्व दिइएको छ ।’
चलचित्रमा प्रियंका कार्की, अनुभव रेग्मीलाई निरन्तरता दिइएको छ । साथमा पल शाह, वर्षा राउत, आँचललाई नयाँ अनुहारको रूपमा चलचित्रमा लिइएको छ । निर्देशक आचार्यले म्युजिक भिडियोमा काम गरिसकेका कलाकार भएकाले पनि काम गर्न गाह्रो नभएको बताए । चलचित्र चैत्र २६ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।
प्रतिक्रिया