शाहलाई पुरस्कार

timthumbकाठमाडौं, २३ असोज । नेपाली चलचित्रका अभिनेता तथा वरिष्ठ चलचित्रकर्मी नीरविक्रम शाहलाई डायमन प्रतिभा पुरस्कार–२०७१ बाट सम्मानित गरिएको छ । चलचित्र निर्माता निर्देशक शाहलाई आख्यानकार डायमनशमशेर राणाका ‘बसन्ती र ‘सेतो बाघ’जस्ता ऐतिहासिक कृतिलाई पर्दामा उतार्न सफल भएकामा सम्मानित गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा विष्णुविभू घिमिरेलगायतले शनिबार आयोजित कार्यक्रममा नगद २५ हजार रुपैयाको पुरस्कार सहित शाहलाई सम्मान गरेका छन् । नेपाली चलचित्रमा लामो समयदेखि क्रियाशील रहेका सम्मानित व्यक्तित्व शाहले चलचित्रका माध्यमले राष्ट्रिय गौरव उचो राख्ने काममा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धेरै नेपाली कृति चलचित्र बनाउन योग्य रहेको भन्दै उनले यसका लागि स्पष्ट राष्ट्रिय नीति आउनुपर्ने बताएका छन् ।

प्रा डा तुलसीप्रसाद भट्टराईले सभ्रान्त परिवारमा जन्मिएर पनि प्रजातन्त्रका खातिर करिब आठ वर्ष बन्दी जीवन बिताएका डायमनशमशेरको राजनीतिक व्यक्तित्वको चर्चा गर्दै उनले ऐतिहासिक उपन्यास लेखनलाई पनि हालसम्म कसैले प्रतिस्थापन गर्न नसकेको धारणा राखेका थिए ।

समीक्षक प्रा डा गोविन्दराज भट्टराईले डायमन शमशेरका उपन्यासमा ‘जादुमयी यथार्थवाद’ रहेकाले विद्यावारिधिका लागि उपयुक्त ठहरिएको बताए ।

प्रतिक्रिया