एउटै परिवारका ३ दृष्टिविहीन पढाइमा अब्बल

पर्वत, २२ असोज । जन्मेदेखि नै दृष्टिविहीन भएका पर्वतको लुंखुदेउराली– ५ का एउटै परिवारका तीन सदस्य विद्यालयमा नै अब्बल विद्यार्थी बन्न सफल भएका छन् ।

गाउँमा रहँदा गालीगलौज र अपशब्द व्यहोर्न बाध्य भएपछि दृष्टिविहीन बालबालिका अहिले शालिजा उच्च माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षामा अब्बल विद्यार्थी बन्न सफल भएका हुन् ।

लुंखुदेउराली– ५ का लालबहादुर र कोपिला क्षेत्रीको कोखबाट जन्मिएका १५ वर्षीया तारा , १२ वर्षीया प्रमिला र १० वर्षीय आशिष विद्यालयकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएका छन् ।

अहिले तारा कक्षा ९, प्रमिला कक्षा ५ र आशिषले कक्षा ४ मा अध्ययन गर्छन् । उनीहरू सबै आफ्नो कक्षामा प्रथम हुँदै आएका छन् । समाहित शिक्षा सञ्चालन भएको उक्त विद्यालयमा अन्य साङ्ग विद्यार्थीको तुलनामा उनीहरू नै दक्खल रहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीले बताए । ‘यी विद्यार्थी विद्यालयमा नै उत्कृष्ट र अब्बल देखिएका छन्’ – उनले भने ‘यी तिनैजना दृष्टिविहीन छात्रछात्रा कक्षामा सधैँ प्रथम हुन्छन’ – समाहित शिक्षामा दृष्टि गुमाएका र दृष्टि भएका सबै विद्यार्थी एकै ठाउँमा राखेर पढाइन्छ । आशिषले त विद्यालयमा नै सर्वोत्कृष्ट अंक ल्याउने गरेका छन् ।

०६६ देखि शालिजा उच्च माविमा दृष्टिविहीन स्रोत कक्षा सञ्चालनमा आएको हो । स्रोत कक्षा सञ्चालनमा आएको कुरा गाउँलेबाट जानकारी पाएपछि आमाबाबुले उनीहरूलाई दृष्टिविहीन कक्षामा भर्ना गरेका थिए ।

जन्मजात दृष्टि गुमाएका यी तीन बालबालिकाले सुरुमा आफूहरू सधैँ अन्धकारमा रहने डरत्रास रहे पनि अहिले भने खुसी देखिन्छन् । ‘छिमेकी, अभिभावक र विद्यालयको सहयोगले हामी उज्यालो भविष्य कोर्न सफल भइयो’ ताराले भनिन्, ‘अब हामी जस्तोसुकै लक्ष्यमा पनि सफल हुन्छौँ ।’ यसो भन्दै गर्दा ताराले आफू भविष्यमा सफल गायिका बन्ने लक्ष्य राखेको बताइन् ।
पारिवारिक आर्थिक अवस्था मध्यम रहेका उनीहरूको परिवारमा अहिले बाबु र आमा मात्रै छन् । यी तीन बालबालिकाका २ दिदी सांग नै रहेका छन् । उनीहरूको विवाह भइसकेको छ भने उनीहरू अहिले दृष्टिविहीन स्रोत कक्षामा पठनपाठन गर्दै आएका छन् । अहिले सो दृष्टिविहीन विद्यालयमा गुल्मीको अर्वेनी–५ का आशा न्यौपाने र इन्द्र न्यौपानेका दिदी भाइसमेत गरी १० जना दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । यसअघि कालीकोटका शंकर उपाध्यायले जिल्लामा नै पहिलोपटक दृष्टिविहीन छात्रका रूपमा प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाका लागि राजधानीमा पुगेका छन् ।

विद्यालय सञ्चालनका लागि नेपाल सरकारले हरेक महिला प्रतिविद्यार्थी २ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ भने छात्रावास व्यवस्थापनका लागि प्लान नेपालले सहयोग गरेको छ । अन्य आवश्यक सहयोगका लागि शालिजावासीको उल्लेख्य सहयोग रहेको स्रोत शिक्षक पूर्णहरि रेग्मीले बताए ।

प्रतिक्रिया