घर भत्किने भएपछि बेचैनी

रुपन्देही, २१ असोज । सडक विभागले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकलाई ८२ फिट कायम गर्ने गरी घरहरूमा रातो चिन्ह लगाएपछि यस क्षेत्रका घरधनीहरू बेचैन भएका छन् । सडक क्षेत्राधिकार मिचेर गगनचुम्नी भवन भएका केही साहुहरूको  घर गर्लाम्मै ढल्ने भएपछि असिन पसिन हुन थालेका छन् ।

केही समय पहिला सडक विभागले ती घरहरूमा रातो चिन्ह दलिसकेको छ । घरमा एकाकएक रातो चिन्ह लागेपछि बेचैन बनेका ती घरधनीहरूले पत्रिकामा सूचना प्रकाशन गरी विहीवार यस क्षेत्रको सुविधा सम्पन्न होटल ‘होटल डार्सिज ईन्टरनेशनलमा भेला डोकेका छन् ।’

भेलाबाट बुटवलको ट्राफिक चोकमा पाँच तलाको घर भएका पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल संयोजक(अध्यक्ष) मा चयन  भएका छन् । यस क्षेत्रमा यातायातमा एकछत्र सिन्डीगेट गरेको पश्चिम नेपाल बस  व्यवसायी संघ हाकेका खरेलले यसअघि अन्य यातायात समितिले बस चलाउदा कानुनको खिल्ली उडाएको भन्दै आफुले दादागिरी नगरेको र गरेमा जस्तो सजाँय भोग्न पनि तयार रहेको बताएका थिए । तर तिनै खरेल अहिले कानुनुको खिल्ली उढाउन नेपाल सरकार सडक विभागले गरेको निर्णय विरुद्ध मोर्चाबन्दी गर्न समेत पछि नहट्ने गरी संघर्ष समितिको अध्यक्ष भएका छन् ।

रोचक कुरा त के छ भने केही समय पहिला लुम्बिनी अञ्चल अस्पतालका सटर भाडामा लगाउदा कानुनी बाटो प्रयोग गरी व्यवसायीहरूको अटेरीपनालाई हटाएर कानुन पालना गराउन सफल भएका अस्पतालका अध्यक्ष डा. प्राश्चित श्रेष्ठ पनि  संघर्ष समितिको उपाध्यक्ष पदमा रहेका छन् । कानुन पालन नगर्ने सटर व्यवसायीलाई कारवाही हुने भन्दै भाषणा छाड्ने उनी अहिले आफै कानुन विरुद्ध मोर्चा बन्दीमा लागेका छन् ।

राजमार्ग चौरहादेखि गोलपार्कसम्म दायाँ बायाँ घर भएका बुटवलका प्रतिष्ठित व्यापारी तथा घरधनीहरू संगठीत रुपमा नै लागेर आ आफ्नो घर जोगाउन लागिपरेका हुन ।  भेलाबाट  पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष समेत रहेका दधिराम खरेलको संयोजकत्वमा १३ सदस्यीय ‘राजमार्ग चौराहा–गोलापार्क सहकारी विकास संघर्ष समिति’ गठन गरिएको छ । जसको उपाध्यक्षमा लुम्बिनी अञ्चल अस्पतालका अध्यक्ष तथा अस्पताललाईनका घरधनी डा. प्राश्चित श्रेष्ठ रहेका छन् । त्यस्तै सचिवमा किशोर कुमार विश्वकर्मा, कोषाध्यक्षमा हरिप्रसाद पोखरेल रहेका छन् । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक किनाराको दायाँबायाँ रहेका तीन सय ७१ वटा घरमा सडक विभागले रातो चिन्ह लगाएको छ ।

प्रतिक्रिया