उदाहरणीय बने ओझा र मादेन

झापा, २१ असोज ।  इच्छा शक्ति भए कुनै पनि काम सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएका छन् झापाको बिर्तामोड निवासी विक्रम मादेन र गुरुप्रसाद ओझाले ।

०६७ देखि आफ्नै लगानीमा बिर्तामोड नगरपालिकामा परोपकार तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएर र वृद्धाश्रमको स्थापना गरेर उनले  जिल्लामै उदाहरणीय काम गरेका छन् । ओझाले वृद्धाश्रम सञ्चालनका लागि झन्डै ५० लाख मूल्य बराबरको एक कट्ठा जग्गा र नगद पाँच लाख रुपैयाँसमेत प्रदान गरेका छन् ।

उनीसँगै मादेनले पनि सोही समयमा १५ लाख रुपैयाँ भवन निर्माणका लागि प्रदान गरे । दुईजना वृद्धवृद्धा राखेर सञ्चालनमा ल्याइएको यो वृद्धाश्रममा अहिले १४ जनाले आश्रय लिइरहेका छन् ।

‘एक एक थोपाले सागर बन्छ, तपाईंको एक एक मुट्ठी अन्नले हाम्रो भान्सा चल्छ’ भन्ने मुख्य नारा बनाएर उनीहरुले सुरु गरेको वृद्धाश्रम सञ्चालनार्थ समिति बनाएपछि समितिका पदाधिकारीले पनि वृद्धाश्रम सञ्चालनका लागि आर्थिक सहयोग गरेको बताउछन् जग्गादाता ओझा । वृद्धाश्रम सञ्चालनका क्रममा मादेनलाई नै अध्यक्ष बनाएर अहिले आश्रमलाई थप व्यवस्थित बनाइएको छ । सरकारी तवरबाट कुनै आर्थिक सहयोग नभए पनि ओझा र मादेनले सुरु गरेको यो कार्यमा अहिले यहाँका सबैले साथ र सहयोग पु¥याएको ज्येष्ठ नागरिक मञ्च झापाका सदस्य तथा स्थानीय समाजसेवी लक्ष्मीप्रसाद पाण्डेले बताए ।

हरेक दिन मुठ्ठीदान सङ्कलन गरेर सुरु गरेको आश्रम दाताकै सहयोगमा अहिले ५० लाख रुपैयाँ खर्च गरेर दुईतले पक्की घरमा निर्माण गरिएको छ ।  मादेन र ओझाले एकमुष्ट २० लाख रुपैयाँ उपलब्ध गराएर सुरु गरेको आश्रम निर्माणका लागि समितिका अन्य सदस्यले पनि सहयोग गरेको आश्रमकी लक्ष्मीकुमारी सिवाकोटीले बताइन ।

उनका अनुसार आश्रममा अहिले ६० देखि ९६ वर्षसम्मका असहाय ज्येष्ठ नागरिक बसोबास गरिरहेका छन् । झापाका पुराना व्यवसायी जगदीश मिन्डाले आश्रममा रहेका वृद्धवृद्धालाई दूध खानका लागि झन्डै डेढ लाख रुपैयाँ खर्चेर एक वर्षअघि गौशाला निर्माण गरिदिएका थिए ।

प्रतिक्रिया