गौचरन बन्दै छ खानी

khani morongमोरङ, २० असोज । मोरङको बाहुनीस्थित राधानगरमा पेट्रोलियम पदार्थको खानी रहेको कुरा ०४५ सालमै पत्ता लागेको थियोे । तत्कालीन समयमा नेपाल, चीन, इटाली, नेदरल्यान्ड र स्वीजरल्यान्डका कम्पनीहरूले स्थलगत अुनगमन गरी ड्रिल गरेर पेट्रोलियम पदार्थको खानी रहेको पुष्टि गर्दै उत्खननका लागि कामसमेत सुरु गरेका थिए । त्यहाँ करिब ३७ सय मिटर गहिरो ड्रिल गरी पाइप बिच्छ्याइएको पनि थियो । पेट्रोलियम पदार्थको उत्पादन गर्ने गरी विभिन्न केमिकल तथा पोखरीहरू बनाएर तीव्र रूपमा काम सञ्चानल गरिएको थियो ।

त्यसबेला धेरैको आशा थियो अब पेट्रोलका लागि दुःख नहुने भो । तर, २७ वर्ष बित्दासमेत सो खानी सञ्चालन हुन सकेन । यसरी देशमा पेट्रोलको हाहाकार भइरहँदा र सो खानीको कामबन्द भएको देख्दा अहिले धेरैलाई आश्चर्य लागेको छ ।

तत्कालीन समयमा चाइनिज कम्पनीले माटो सम्याउने काम गरेको र इटालीको साइपम कम्पनीले ड्रिल गरी पाईप बिच्छ्याउने काम गरेको पेट्रोल खानीका संरक्षक चौकीदार कपिलमणि रिजालले बताए । उनका अनुसार जतिखेर त्यहाँ काम भइरहेका थियो त्यतिबेला त्यहाँ जान कसैलाई पनि अनुमति थिएन तर एक्कासि काम बन्द गरेपछि त्यहाँ काम बन्द गरी चौकिदार राखियो । निकै हर्षित भएका बाहुनी गाविसका मानिस बन्द हुँदा निकै चिन्तित भए ।

स्थानीयको आशा र नेपालको पेट्रोल निकाल्ने सपना नै माटोमा मेटिने गरी ड्रिल गरेको पाइपबाट कच्चापदार्थको उत्पादन गर्नसक्ने अवस्था आएपछि एकाएक काम बन्द गरेर सबै कम्पनीहरू सो स्थान छाडेर गएको स्थानीय बताउँछन् । छिमेकी राष्ट्र भारतको तीव्र दबाबकै कारण त्यतिबेला उत्खनन कार्य रोकिएको अनुमान स्थानीयको छ ।

दुई बिगाहा बढीको क्षेत्रफलमा पेट्रोल उत्खननका लागि छुट्याएर काम सञ्चालन गरिएको थियो । त्यस समयमा ड्रिल गरी पाइप बिच्छ्याउने, पोखरी खन्ने, उत्खननका लागि आवश्यक विभिन्न केमिकलको भण्डारण गर्ने घरको पनि निर्माण गरिएको थियो । तर, अहिले यो केमिकल राख्ने घर पनि भत्किने अवस्थामा छ भने अन्य क्षेत्र रुखपातले छोपिन
लागेको छ ।

गर्दा गर्दैको काम छाडेर गएको पनि २७ बर्ष बितिसकेको छ । यति ठूलो सम्भावना बोकेको ठाउँ अहिले गौचरनमा परिणत भएको छ । जताततै ठूला झार रुखपातले छोपिएर गाई चराउने घाँस काट्ने ठाउँमा परिणत बनेको छ । यो क्षेत्रलाई अहिले खानी तथा भूगर्भ विभागले संरक्षण गर्दै आएको छ । दुईजना कर्मचारीले यो क्षेत्रको रेखदेख गर्दै आएका छन् ।

ठूलो सम्भावना बोकेको क्षेत्र गौचरनमा परिणत बन्ने अवस्थासम्म आइपुग्दा नेपाल सरकारले कुनै चासो दिएको देखिँदैन । त्यतिबेलै छिमेकी राष्ट्रको दबाब झेलेको नेपाल सरकार र नेपाली राजनीतिले यसलाई अहिले पनि नजरअन्दाज गरिरहेको छ ।

२७ वर्षअघि छिमेकीको यस्तै अघोषित नाकाबन्दी भोगेका नेताहरूले यसलाई बुझ्न सकेनन् या चाहेनन् । तर समय पुनः उस्तै भएको छ । अहिले नाकाबन्दीका कारण देशले पेट्रोलको हाहाकार खेप्दै गर्दा यस्ता विकल्पको खोजी हुन थालेका छन् । तर पहिले भएकै बिकल्पहरूको नेपाल सरकारले उपयोग गर्न नसकेको स्थानीयको बुझाइ छ ।

प्रतिक्रिया