नेतृत्वविरुद्ध पत्रकार सडकमा

काभ्रे, २० असोज । क्रियाशील पत्रकारहरू पत्रकार महासंघका पदाधिकारीविरुद्ध मुखमा कालोपट्टीसहित सडक आन्दोलनमा उत्रिएका छन् ।

जिल्लामा लामो समयदेखि क्रियाशील रहेका पत्रकारहरूलाई सदस्यता नदिएको भन्दै सडक आन्दोलनमा उत्रिएका हुन् ।

आठ बर्षदेखि पत्रकार महासंघमा प्रक्रिया पूरा गरेर आवश्यक कागजात पेस गरेका पत्रकारहरूलाई सदस्यता दिन विभिन्न बहानामा आलटाल गरेको संयोजक दिनेश घिमिरेले बताए । ‘क्रियाशील पत्रकारहरूलाई सदस्यता दिन विभिन्न बहानामा आलटाल गरेकोले हामी आन्दोलित हुन बाध्य भयो उनले भने ।

क्रियाशील पत्रकार संघर्ष समिति काभ्रेले महासंघको बनेपामा रहेको कार्यालयमा तालाबन्दीसमेत गरेको थियो । जिल्लामा लामो समयदेखि क्रियाशील रहेका पत्रकारहरूलाई सदस्यता नदिएको भन्दै तालावन्दी र मुखमा कालोपट्टीसहित विरोध उत्रिएको संयोजक घिमिरेले जानकारी दिए ।

संघर्ष समितिले महासंघसमक्ष ६ सूत्रीय मागसमेत राखेको छ । जसमा क्रियाशील पत्रकारहरूलाई तत्काल सदस्यता दिनुपर्ने, राजनीतिक आस्थाका आधारमा सदस्यता दिने परिपाटी तत्काल बन्द गर्नुपर्ने, विगतमा क्रियाशील पत्रकार संघर्ष समितिसँग गरिएका सहमति पालन गर्नुपर्ने, विगतमा सदस्यता लिएका तर पत्रकारिता पेसामा नरहेका जिल्लाका वकिल, व्यापारीलगायत गैरपत्रकारको सदस्यता खारेज गर्नुपर्ने रहेको छ । यस्तै पत्रकार हकहितका लागि विभिन्न निकायबाट दिइने सेवा तथा सुविधासम्बन्धी सूचना सदस्यता वितरण नवीकरणलगायत प्रक्रियासम्बन्धी सूचना लुकाउने परिपाटीको अन्त्य हुनुपर्ने, विधानविपरीत सदस्यता लिएकाको सदस्यता छानबिन गरेर खारेज गर्नुपर्ने, भुकम्पपछि पत्रकारका लागि लिएको राहतको सदुपयोग गर्नुपर्ने र राहत सामग्री र महासंघको हिसाबकिताव तत्काल सार्वजनिक गर्नुपर्ने माग समितिले राखेको छ ।

समितिले पहिलो चरणको आन्दोलन कार्यक्रमसमेत घोषणा गरेको छ । यस्तै, असोज २५ गते सदस्यता छानबीनका लागि केन्द्रीय कार्यालयमा डेलिगेसन जाने र दोस्रो चरणको आन्दोलन कार्यक्रम असोज २६ गते बस्ने बैठकले तय गर्ने संयोजक घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया