सिरीजंगा लिपिमा क्याम्पसको नाम

ram younghangइलाम, २० असोज । सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको साइनबोर्ड लिम्बू राष्ट्रभाषा तथा किरात सिरीजंगा लिपिमा लेखिएको छ । लिम्बू विद्यार्थी मञ्च महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले क्याम्पसको नाम लिम्बू राष्ट्र भाषा तथा किरात सिरीजंगा लिपिमा लेखी साइनबोर्ड राखेका छन् ।

मञ्चले बुधबार एक कार्यक्रम गरी अंग्रेजी, देवनागरी र किरात सिरीजंगा तीनै लिपिमा लेखिएको बोर्ड राखेका हुन् । यसअघि क्याम्पसको साइनबोर्डमा देवनागरी लिपि मात्र प्रयोग
गरिएको थियो ।

केन्द्रिय कमिटि र जिल्ला कमिटिको सहयोगमा त्रैभाषिक वोर्ड रारिएको क्याम्पस कमिटीका अध्यक्ष रुद्र थेबेले जानकारी दिए । नेपालको संविधान २०७२ ले प्रदत्त गरेको भाषिक अधिकारको उपयोग गर्दै मञ्चले आफ्नो नियमित कार्यक्रमअन्तर्गत क्याम्पसको नाम किरात सिरीजंगा लिपिमा समेत लेखेको अध्यक्ष थेवेले बताए । नेपालको संविधानको भाग १ को धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्’ भन्ने उल्लेख गरिएको छ ।

लिम्बू विद्यार्थी मञ्च केन्द्रिय कमिटीले नेपालको शिक्षा नीतिमा मातृभाषामा व्यवहारिक र वैज्ञानिक शिक्षालाई संस्थागत गराउन भन्दै यसअघि नै अरुणपूर्वका नौ जिल्लाको शैक्षिक संस्थाहरुको साइनबोर्डमा अंग्रेजी, नेपाली र लिम्बू राष्ट्र भाषा तथा किरात सिरीजंगा लिपिमा लेख्ने अभियान चलाएको थियो ।
यसअघि पाँचथरस्थित पाँचथर बहुमुखी क्याम्पस र यासोक बहुमुखी क्याम्पस, मोरङको पथरी बहुमुखी क्याम्पस र इलामको बाँझोस्थित सरस्वती उच्च माध्यमिक विद्यायलयको नाम किरात सिरीजंगा लिपिमा लेखिएको मञ्चका केन्द्रीय अध्यक्ष आंबुहाङ अवोध अविरलले जानकारी दिए । कार्यक्रमअन्तर्गत सबै शैक्षिक संस्थाहरुमा अनिवार्य यो अभियान सञ्चालन गरिने उनले बताए ।

हाल ऐच्छिक रुपमा प्राथमिक तह र कक्षा ११ र १२ समेत इलाम पाँचथर, ताप्लेजुङ, सुनसरी, तेह्रथुमका लिम्बू बाहुल्य क्षेत्रमा पठनपाठन हुँदै
आएको छ  ।

प्रतिक्रिया