संखुवासभा, २० असोज । माम्लिङ ६ का ७१ वर्षीय भक्तबहादुर गुरुङलाई ६ वर्ष अघि सडक कालोपत्रे हुँदा जति खुसी लागेको थियो अहिले उनी त्यति नै चिन्तित छन् ।
सडक कालोपत्रे भएको ६ वर्ष नबित्दै हिलम्मे भएपछि उनलाई चैनपुरबजारसम्मको ३९ किमी आवतजावत गर्न समस्या भएको छ । सडक राम्रो हुँदा पहिले मुढेबाट चैनपुरसम्मको ३९ किमी बाटो पार गर्न १ घण्टा लाग्थ्यो अहिले पुरै ४ घण्टा लाग्छ उनले भने ।
धनकुटा सडक कार्यालय र तुम्लिङटार सडक डिभिजन कार्यालयले हरेक वर्षसडक मर्मतका लागि लाखौँ खर्च गर्दै आएको छ । प्रभावकारी अनुगमन नहुँदा मर्मत गरे पनि नटिक्ने गुरुङको भनाइ छ । मर्मत हुन्छ कोही हेर्न आउँदैनन् वैशाखबाटै सडक हिलाम्मे भएर यातायात सञ्चालनमा अवरोध हुँदै आएको छ । उनले भने, ‘सडक डिभिजनले करोडौँको मर्मत गरे पनि बालुवामा पानी हालेजस्तो मात्र भएको छ ।’ बसन्तपुरबाट चैनपुर खण्डसम्म गरिएको कालोपत्रे उक्किएको छ । करोडौँ खर्च गरेर मर्मत गरिए पनि एक महिना नटिक्ने उनले बताए ।
चैनपुरबाट सुनसरीको धरानसम्मको यात्रा गाह्रो भएको छ । हिलेसम्म पुग्न कम्तीमा १० ठाउँमा उत्रिनुपर्ने र सामान हराउने समस्या उतिकै रहेको स्थानीयवासीको भनाई छ । कोसि राजमार्गअन्तर्गतको संखुवासभा जोड्ने मुख्य सडक निर्माण पूरा भएको ६ वर्ष नबित्दै पुरानै अवस्थामा फर्केको हो । एसियाली विकास बैंकको लगानीमा कालोपत्रे गरिएको ७५ किमी सडकमा असिना र पानीले बगाएपछि सडक पुरानै अवस्थामा फकेर्को हो ।
तामाफोकका देबराज सुबेदीले सहजै यात्रा गर्न सकिने अवस्था नरहेको र भनेको ठाउँमा पुग्न समस्या भएको बताए । ‘पानी पर्नासाथ सडक हिलाम्मे हुने गरेकोले पैदल हिँड्नसमेत गाह्रो हुने गरेको छ’, उनले भने ।
मुढेशनिस्चरेबाट तेह्रथुमको वसन्तपुरसम्म पुग्न यात्रुहरूले कष्टकर यात्रा गर्नुपर्छ । यो सडक खण्डमा ओटासिल प्रविधिबाट कालोपत्रे सडकमा स्थानीयबासीले पुन कालोपत्रे गर्न लगाएका थिए । तर ठेकेदार कम्पनीले मापडण्डविपरीत काम गरेकाले दोहोरो कालोपत्रेसमेत टिकेन ।
सुनसरीको धरानबाट १ सय ४२ किमी सडकमध्ये ६० किलाोमिटर सडकको ठाउँठाउँमा ठुल्ठूला खाल्टा परेकाले दैनिक उपभोग्य सामान ढुवानी गर्न पनि समस्या हुँदै आएको चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्यले बताए । उनले भने, ‘कोसी राजमार्गअन्तर्गत धनकुटाको सिधुवा, तेह्रथुमको वसन्तपुर हुँदै चैनपुर जोड्ने निमाणधीन सडक मर्मत गरिए पनि झारा टार्ने काम भयो । वर्षामा गरिएको मर्मत काम नलाग्ने भएको छ । ठेकेदारले मर्मतका नाममा लाखौँ रुपैयाँ त्यसै लगे ।
कालोपत्रे र ग्राभेल भएको डेढ वर्षमै उक्त सडकमा त्यसको नामोनिसान मेटिएको थियो । कम गुणस्तरको कालोपत्रे गरिएका सडक यस्तो हबिगतमा पुगको स्थानीय बासिन्दाको अनुभव छ । कालोपत्रे गरेको भनिएको सडकका ठाउँठाउँमा गाडीसमेत डुब्ने खाल्डा परेका छन् ।
६ वर्षअघि एउटा प्याकेजमा चार करोड ५० लाख रुपैयाँका दरले १६ वटा प्याकेजमा करिब ७२ करोड रूपैयाको लगानिमा सडक कालोपत्रे भएको थियो । कालोपत्रेपछि करोडौँको लागानीमा मर्मत गरिए पनि अहिले सडक सुरुकै ट्र्याकको अवस्थामा पुगेको छ । सडकको अवस्था बिग्रँदै गएपछि अहिले दैनिक उपभोग्य सामानको मूल्य आकासिएको छ ।
प्रतिक्रिया