धनकुटा १९ असोज । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै धनकुटामा कात्तिक दोस्रो हप्ता देखि बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । अलहवा मेडिकल मिसन अमेरिकाको सहयोगमा कात्तिक ९ देखि २० गते सम्म १२ दिने शिविर सञ्चालन गर्न लागिएको हो ।
अमेरिका लगायत विभिन्न देशका विशेषज्ञ डक्टरहरूद्वारा शिविरमा पित्तको पन्थरी, हर्निया, शरीरका विभिन्न भागमा निस्किएका गाठागुठी, पाठेघर, छाला टासिएकोलगायतको शल्यक्रिया, दातको उपचार, प्लास्टिक सर्जरी, कृतिम हात लगाउनेलगायत विभिन्न रोगहरूको निःशुल्क शल्यक्रिया हुने आयोजकले जनाएको छ । धनकुटा सदरमुकाममा आइतवार भएको सर्वपक्षीय बैठकले विभिन्न समितिहरू गठन गरी शिविरका लागि तयारी थाल्ने निर्णय पनि गरेको छ ।
स्थानीय रोशन श्रेष्ठको संयोजकत्वमा बृहत् निःशुल्क शिविर मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै क्षेत्रीय प्रशासक सुरेश प्रकास आचार्य, सिडिओ विजय नारायण मानन्धर, क्षेत्रीय स्वास्थ्य निर्देशक झलक शर्मा पौडेल, राजनीतिक दलका प्रमुखहरू, विकाससँग सम्बन्धित कार्यालय र सुरक्षा निकायका प्रमुखहरू रहेको सल्लाहकार समिति गठन गरिएको छ ।
सर्वपक्षीय बैठकबाट गोपाल गुरागाईको संयोजकत्वमा शिविर अनुगमन तथा व्यावस्थापन समिति, राजेन्द्रवहादुर प्रधानको संयोजकत्वमा स्वागत तथा बिदाइ समिति, सिडिओ अधिकारी सोमप्रसाद भट्टराईको संयोजकत्वमा यातायात तथा सुरक्षा व्यवस्थापन समिति र विजय सन्तोषी राईको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।
त्यस्तै खगेन्द्र घिमिरेको संयोजकत्वमा प्रचार प्रसार समिति, दोर्ण गुरागाईको संयोजकत्वमा आर्थिक समिति, नरेन्द्र पोखरेलको संयोजकत्वमा रक्त संचार तथा एम्बुलेन्स व्यवस्थापन समिति, अक्षलाल दासको संयोजकत्वमा फार्मेसी व्यावस्थापन समिति, पुरेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा समन्वय समिति र जिल्ला अस्पताल प्रमुखको संयोजकत्वमा शल्यक्रिया थ्रेटर व्यावस्थापन समिति गठन गरिएको छ । कार्यक्रममा वोल्ने बक्ताहरूले वृहत निःशुल्क स्वास्थ्य शिविर गरिब तथा असाहय र पहुच विहिनहरूका लागि केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया