सुरु भयो ‘के म तिम्रो होइन र’

k-ma-timro-hainaraकाठमाडौं, २८ भदौ । चलचित्र कोहिनूरमा रहेको ‘के म तिम्रो होइन र’ बोलको गीत सोही चलचित्रका निर्देशक आकाश अधिकारीले चलचित्र बनाउने भएका छन् । चलचित्रको कलंकीस्थित सिटी सेन्टर अस्पतालमा सोमबार शुभमुहूर्त गरिएको छ ।शुभमुहूर्त कार्यक्रममा चलचित्रका कलाकार आर्यन अधिकारी, मरिष्का पोख्रेल र गौरी मल्लले सट् दिएर चलचित्रको औपचारिक सुरुआत गरिएको थियो । आर्यन अधिकारी र मरिष्का पोख्रेलले यही चलचित्रबाट डेब्यु गर्दै छन् । चलचित्रमा मिथिला शर्मा, आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसीलगायत कलाकारको पनि मुख्य भूमिका रहने निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन् ।

शुभमुहूर्त कार्यक्रम पूर्वराज्यमन्त्री देवेन्द्रराज कँडेलले क्ल्याप ठोकेर, वितरक प्रदीप कुमार उदयले क्यामेरा स्विच अन गरेर, नायक शिव श्रेष्ठले नरिवल फोरेर र मुहूर्त सट्को नृत्यनिर्देशक वसन्तकुमार श्रेष्ठले निर्देशन गर्दै शुभारम्भ गरेका थिए ।

सुरेश अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्रलाई अधिकारी ब्रदर्सको ब्यानरले द स्काई मुभिजसँगको सहकार्यमा निर्माण गर्न लागेको हो । चलचित्रलाई आकाश अधिकारीले निर्देशन गर्नेछन् भने सत्यराज चौलागार्इं र प्रभात बास्कोटाको सह–निर्देशन रहनेछ ।

यस चलचित्रमा सुरज आचार्यको प्रोडक्सन डिजाइनर, नवराज कृष्ण थापाको छायांकन, दिनेश वान्तवा मुख्यसहायक छायांकार, हिमाल केसी द्वन्द्वनिर्देशक, रेनशा वान्तवा राईले नृत्य निर्देशकको जिम्मा लिएका छन् । त्यस्तै चलचित्रका गीतमा वसन्त सापकोटा र ताराप्रकाश लिम्बूको संगीत, आकाश अधिकारी, डाक्टर कृष्णहरी बराल र सुन्दर श्रेष्ठको गीत, उदित नारायण झा, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना र दुर्गा दाहालको स्वर रहनेछ ।

चलचित्रको शुभमुहूर्त कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले चलचित्र ‘के म तिम्रो होइन र’ लभस्टोरी रहने जानकारी दिए । कार्यक्रममा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमारलगायतका व्यक्तिहरूले चलचित्रलाई शुभकामना दिँदै चलचित्र राम्रो बन्नेमा विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया