देउखुरी, २६ भदौ । ‘बत्तीले उज्यालो दिँदैन, पंखा चल्दैन्, विद्युत् छ तर, कामै गर्दैन,’ गंगापरस्पुरका मानबहादुर बोगटीले भने, ‘विद्युत् डिम हुँदा दैनिक काम गर्न मुस्किल भयो ।’ यो समस्या गंगापरस्पुरका मानबहादुर बोगटीको मात्रै होइन्, देउखुरीका अधिकांश नागरिकले विद्युत् भोल्टेज कम हुँदा यस्तै समस्या भोग्दै आएका छन् । सहर बजारमा भन्दा यो समस्या गाउँमा बढी छ ।
राप्ती वारी र पारीका अधिकांश गाउँका नागरिक विद्युत् भोल्टेज कम हुँदा मारमा परेका छन् । ‘तरकारी खेतीका लागि सिँचाइ गर्नुपर्छ, मोटरले कामै गर्दैन,’ गंगापरस्पुरमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका सुधीर पौडेलले भने, ‘घरभित्र छि¥यो बत्ती पनि बल्दैन, पंखा नि चल्दैन ।’ नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय लमहीले गंगापरस्पुर–१ रामनगरमा विद्युत्को ट्रान्समिटर फेरे पनि समस्या ज्यूँकात्यूँ छ ।
गंगापरस्पु–१ का रामनगरमा फेरिएको ट्रासफर्मबाट २ वटा मिल चलिरहेका छन् । मिलले विद्युत् बढी खपत गर्ने भएकाले अन्य स्थानमा कम भोल्टेजको समस्या हुन सक्ने स्थानीयले बताएका छन् । तर, यसबारे विद्युत् कार्यालयले चासो नदिएको स्थानीय उपभोक्ताले बताए । गंगापरस्पुरको गोविन्दनगर, मगरौटा, बुटैनी र नयाँ बस्तीका करिब ३ सय घरधुरीका कम भोल्टेजको मारमा छन् । ३ भदौमा पडकिएको रामनगरको ट्रान्सफर्म २० दिनपछि बल्ल फेरिएको थियो ।
भोल्टेजको समस्या देउखुरीका अधिकांश स्थानमा रहेको दीपज्योति विद्युत् उत्पादन तथा वितरण प्रालिका प्रमुख वासु गौतमले बताए । ‘यो समस्या सबै ठाउँमा छ तर, यसको समाधान गर्न प्राधिकरणले ध्यान दिनुपर्छ,’ उनले भने, ‘हाम्रो कार्यक्षेत्रभित्रका २ वटा ट्रान्सफर्मको अपग्रेड र ६ वटा नयाँ ट्रान्सफर्म जडान गर्न माग गरिरहेका छौँ ।’
यता नेपाल विद्युत् प्राधिकरण लमही शाखाका प्रमुख जयबहादुर रावलले देउखुरीका ११ वटा स्थानमा नयाँ ट्रान्सफर्म जडान गरेपछि मात्रै केही वर्षका लागि भोल्टेज कम हुने समस्या समाधान हुने बताए । ‘कम भोल्टेज हुने समस्या समाधान गर्न नयाँ ट्रान्सफर्म जडान गर्नुपर्छ,’ उनले भने, ‘गाउँ–गाउँबाट गुनासो आइरहेका छन् तर हामीले नयाँ फेर्न सकिरहेका छैनौँ, जिल्लामै ट्रान्सफर्मको अभाव छ ।’
कम्तीमा २ किलोमिटरको दूरीमा एउटा ट्रान्सफर्म जडान गर्नुपर्ने प्रावधान छ । जनसंख्या बढ्दै जानु, विद्युत् खपत बढ्नु तर ट्रान्सफर्मको स्तरवृद्धि नहुँदा भोल्टेज कम हुने समस्या देखिएको हो । देशैभरि विद्युत् ट्रान्समिटरको अभाव छ । श्रीलंकाबाट नयाँ ठेक्का गरी ट्रान्सफर्म नेपाल भित्र्याउन थालिए पनि प्रर्याप्त मात्रामा पुगेको छैन । यसले गर्दा अहिले दुर्गम गाउँका नागरिकले विद्युत् जडान गरे पनि त्यसको पूर्ण सुविधा उपभोग गर्न पाइरहेका छैनन् ।
प्रतिक्रिया