कालो बजारी बढ्यो

पर्सा, २२ भदौ । प्रशासनले लगाएको कफ्र्युको मौका छोपी व्यापारीहरूले कालो बजारीको काम पनि ह्वात्तै बढाएका छन् । वीरगञ्जमा जारी बन्दले सम्पूर्ण कलकारखाना, व्यापारिक पसलहरू ठप्प छन् । यसको मौका छोपी प्रहरीकै स्कटिङमा ल्याएको समानहरूको मनपर्दो दाम थपी उपभोक्ताहरूलाई ठगिरहेका छन् ।

सोमबार राती प्रहरीको स्कर्टिङमा सिमराबाट नेपाल ग्यासको सिलिन्डर भित्र्याएका जय माँ दुर्गा इन्टरप्राइजेजले ७० रुपैयाँ बढी मूल्य थपेर ग्यास बेचिरहेका छन् । मंगलबार बिहान प्रशासनले ९ बजेदेखि १ बजेसम्मका लागि कफ्र्यु खुलाएपछि वीरगञ्ज–६ स्थित जय माँ दुर्गा इन्टरप्राइजेजले नेपाल ग्यासको प्रति सिलिन्डर १ हजार ३ सय ८० रुपैयाँ बजार मूल्य पर्ने ग्यास इन्टरप्राइजेजका सञ्चालक सुमन श्रीवास्तवले प्रति सिलिन्डर १ हजार ४ सय ५० रुपैयाँ उपभोक्तालाई बिक्री गरिरहेका थिए । उपभोक्तले ग्यास नपाइरहेको अवस्थामा बाध्य भएर प्रति सिलिन्डर ७० रुपैयाँ बढी तिरेर भए पनि ग्यास लिन उपभोक्ता बाध्य छन् ।

स्थानीय रमेश गुप्ताले भने ‘प्रशासनलाई कालो बजारी भइरहेको भनेको १ घन्टा भयो तर प्रहरी आइपुगेका छैनन् । बाध्य भएर हामी ७० रुपैयाँ बढी तिरिराखेका छौँ ।’ उनले थपे ‘खुलेआम ७० रुपैयाँ बढी लिइरहेका छन्, निकै पहिला १ हजार ४ सय ५० मा ग्यास पाइएको थियो, सरकारले मूल्य समायोजन गरी ३५ रुपैयाँ घटायो । त्यसपछि फेरि ३५ रुपैयाँ सरकारले घटाएर १ हजार ३ सय ८० रुपैयाँ कायम ग¥यो तर अहिले कालोबजारी गरी १ हजार ४ सय ५० मा बेचिरहेका छन् । बढी किन लिइरहेको भनेर सोध्दा स्कर्टिङमा ल्याएको र आप्mनो अलग्गै भाडा लागेको भनेर जवाफ दिन्छन् ।’ तर, गए राती नेपाल ग्यास भने आफ्नै ट्रकले ल्याएको गुप्ताले बताए ।

रमेशसँगै तापेश्वर नाथले भने ‘हामी मान्छौँ आप्mनौ भाडाले ल्याए होला, तर, सिमराबाट वीरगञ्ज ल्याउन प्रति सिलिन्डर ७० रुपैयाँ कसरी भाडा लाग्छ, प्रशासनले स्कटिङ गरेर ल्याइदिएको ग्यासमै ७० रुपैयाँ बढता लिइरहेको यो त खुलेयाम लुटेको भएन ।’

ग्यास लिन निकै भिड रहेको जय माँ ईन्टरप्राइजेजमा स्थानीयले कालो बजारी गरिरहेको भनी प्रहरीलाई खबर गरेको एक घन्टापछि प्रहरी आउँदा प्रहरीको कुरा सहज रूपले सुमन श्रीवास्तव र उनका भाइ सुजित श्रीवास्तवले मानेनन् । निकै रस्सा कस्सिका बावजुद जब सई रमेश रेग्मीले कालो बजारी ऐनअन्तर्गत पक्राउ गर्ने र कार्बाही गर्ने भनेपछि, आफ्ना दाई मुरत श्रीवास्तवलाई बोलाउँछु भन्दै बारम्बार सई रेग्मीको बेवास्था गर्दै थिए ।

अन्तमा नेपाल ग्यासका बजार व्यवस्थापक उनका भाइ मुरत श्रीवास्तवले भने नेपाल ग्यासले नै १४ सय ५० रुपैयाँ मूल्य निर्धारण गरेको छ । तर, त्यस्तो कुनै आधिकारिक जनकारी नभएकाले प्रहरीले स्कटिङ गरेर ल्याएको ग्यासमा कालोबजारी नगरी १ हजार ३ सय ८० रुपैयाँमा बिक्री गर्न सई रेग्मीले आदेश दिए ।

प्रतिक्रिया