बुटवल, २१ भदौ । यातायात व्यवस्था लुम्बिनी अञ्चल कार्यालयका कर्मचारीले काम गर्दा दलाललाई पोत्साहन गर्ने गरेको सेवाग्राहीले आरोप लगाएका छन् । कार्यालयमा सेवाका लागि आउने सेवाग्राहीसँग कार्यालयका कर्मचारीले फारम भर्न, टिकट किन्न र स्वाथ्य परीक्षणको लागिसमेत दलालहरूलाई प्रोत्साहन गरेको सेवाग्राहीले जनाएका छन् ।
सेवाग्राहीले कार्यालयमा राजस्व बुझाउँदा खुद्रा पैसा फिर्ता नदिने, लाइन लामो भएका कारण लाइनमा बस्न समस्या भएको, कार्यालय सानो भएको कारणले समस्या, सोधपुछ कक्षको अभाव, कार्यालयमा टिकट र निवेदन फारम अभावको कारण बिचौलियाबाट लिनुपर्दा महँगो भएको लगायतका गुनासा छन् । त्यस्तै, स्वाथ्य परीक्षण गर्दा तिरेको पैसाको रसिद नदिएको, टोकन सिस्टम नभएको जसले गर्दा लाइनमा घण्टौँ बस्नुपरेका जस्ता गुनासा गरेका थिए ।
कार्यालयमा कार्यरत रहेका कर्मचारीबाट शिष्ट व्यवहार नभएको, पिउनेपानी र पंखाको अभाव रहेको सेवाग्राहीको गुनासो छ । यता, सदाचार स्थापानाका लागि कार्यरत टान्सपरेन्सी इन्टरनेसनल नेपालसँग आबद्ध पारदर्शी सरोकार समूहका कोषाध्यक्ष दीपक ढकालका अनुसार नयाँ कार्यालय भएको कारण केही समस्या भए पनि सो कार्यालयमा अझै केही सुधारको खाँचो रहेको छ ।
उनले भने, ‘कार्यालयमा केके काम कुनकुन तला र कति नम्बरमा हुन्छन् भन्ने विषयमा सूचना पार्टीमा लेख्नुपर्छ तर यसो गरिएको पाइएन जुन सूचनाको हकअनुसार नै राख्नुपर्छ ।’
उता, कार्यालयका प्रमुख वेदप्रकाश अर्यालले अहिले कार्यालय भाडामा रहेको कारण कैयाँै भौतिक पूर्वाधार अभाव रहेको जानकारी दिए । उनले कार्यालयमा फर्निचरकोसमेत यथेष्ठ व्यवस्था गर्न नसक्दा अन्य काम गर्न नसक्ने भन्दै यसका लागि केन्द्रसँग बजेट माग गरिएको जानकारी दिए । उनले भने, ‘केन्द्रबाट बजेट माग गरिएको छ, बजेट आएमा सबै काम बिस्तारै पूरा हुन्छ ।’ आफू मातहतका कर्मचारीलाई सेवाग्राहीसँग शिष्ट व्यवहारका लागि आफूले निर्देशन दिएको भन्दै कुनै कर्मचारीबाट अशिष्ट व्यवहार भए र कर्मचारीकै कारण समस्या भएमा जानकारी गराउन आग्रह गरे ।
टोकन प्राणाली नहुँदा सेवाग्राही कैयौँ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्याता रहेको आफूले पनि महसुस गरेको भन्दै केन्द्रबाट बजेट आएपछि आफूले सुरु गर्ने बताए । ‘हामीलाई यति बजेट चाहिन्छ भनेर केन्द्रमा लेखेर पठाएका छौँ तर उताबाट तिमीहरूलाई यथेष्ठ फर्निचर व्यवस्था गर्न सकेका छैनाँै, अरू पछि हेराँैला भनेर जवाफ आएको छ’, उनले भने ।
प्रतिक्रिया